काठमाडौँ – फाइनलमा चेन्नईलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि उचालेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल)को १२औँ अध्याय टुंगियो। आईसीसी विश्वकप २०१९ को पूर्वसन्ध्यामा आयोजित विश्वकै सर्वाधिक ठूलो फ्रेन्चाइज टी–२० प्रतियोगिता फाइनलमात्र नभएर समूह चरण र प्लेअफ पनि उत्तिकै रोमाञ्चक भए।
यस दौरान दिल्लीले पहिलो पटक प्लेअफमा स्थान बनाउँदा सर्वाधिक आशातीत बैंगलोरले समूह चरण नै पार गर्न सकेन। त्यस्तै, प्रतियोगिताअन्तर्गत २ खेल सुपर ओभरमा पुग्योे। यसबाहेक धेरै गतिविधिले यसपटकको आईपीएललाई अझ रोमाञ्चक बनाए।
१. शालीन धोनीको आक्रामक प्रस्तुति
विश्व क्रिकेट जगतमा धैर्यवान् कप्तानको छवि बनाएका भारतीय टोलीका पूर्वकप्तान तथा चेन्नईका कप्तान धोनीको आक्रामक रुप यस पटकको आईपीएलमा देखियो। यसअघि धोनीको कप्तानी शैली र ब्याटले रिस पोख्थ्यो, यसपटक त्यो भन्दा अलि फरक दृश्य पनि देखियो।
आईपीएलको समूह चरणमा राजस्थानविरुद्ध १५२ रनको लक्ष्य पच्छ्याएर ब्याटिङ गरिरहेको चेन्नईलाई जितका लागि अन्तिम ३ बलमा ८ रन आवश्यकता थियो। चौथो बलमा राजस्थानका बलर बेन स्टोक्सले गरेको स्लोअर बल फुल टस भएको थियो। जुन ब्याट्सम्यानको कम्मरभन्दा माथि थियो। ब्याट्सम्यानको सिधा बसेको अम्पायर उल्हास गान्धेले उक्त बललाई नो बल दिएनन्।
त्यो बलमा नो बल दिएको भए त्यस बलपछि चेन्नईलाई ३ बलमा ५ रन जीतको लागि आवश्यक हुने थियो र लगत्तै बलमा फ्री हिट पनि पाउने थियो। तर लेग अम्पायर अक्सेनफर्डले कुनै इसारा नगरेपछि धोनी मैदानमा प्रवेश गरी अम्पायरसँग आक्रामक शैलीमा प्रस्तुत भएका थिए।
२. आश्विनले बटलरलाई गरेको रनआउट
राजस्थानविरुद्धको खेलमा पञ्जाबका कप्तान रविचन्द्रन आश्विनले राजस्थानका ओपनर जोस बटलरलाई गरेको ‘रन आउट’ क्रिकेटप्रेमीबीच चर्चाको विषय बन्यो।
दोस्रो इनिङमा खेल राजस्थानको पकडमा थियो। बटलर आफ्नो चिरपरिचित विष्फोटक अन्दाजमा खेलिरहेका थिए र उनको व्यक्तिगत खातामा ६९ रन जम्मा भइसकेको थियो। जितका लागि ४४ बलमा ७७ रन चाहिएको अवस्थामा राजस्थानसँग ८ विकेट सुरक्षित थियो। त्यति नै बेला आश्विनले अस्वभाविक तरिकाले बटलरको विकेट निकाले।
आश्विनले बल फ्याक्न लाग्दा बटलर नन स्ट्राइकर इन्डमा थिए। दौडिदै गर्दा आश्विनले थाहा पाए कि बटलर आफ्नो क्रिजबाट थोरै अगाडि छन्। त्यसैले उनले बल फ्याक्न छोडेर ननस्ट्राइकर इन्डमा स्टम्पको गिल्ली उडाइदिए। अनि आउटको अपील गरे। बट्लर स्तब्ध बने।
यो विषय निर्णयका लागि थर्ड एम्पायरमा पुग्यो। थर्ड एम्पायरले सहजै आश्विनको पक्षमा निर्णय दिए। बटलर क्रिज छोड्न बाध्य भए। असामान्य तरिकाले आउट भएर क्रिज छोड्नुपर्दा बट्लर निकै आक्रोशित देखिन्थे।
३. आश्विनलाई कोहलीको व्यङ्ग्य
आईपीएल–१२ को अन्तिम खेल खेलिरहेका पञ्जाब र बैगंलोरका कप्तानबीच सिर्जना भएको रोमाञ्चक घटनाले मैदानमा खैलाबैला मच्चायो। दोस्रो इनिङमा २०३ रनको विजयलक्ष्य पच्छ्याएर ब्याटिङ गरिरहेको पञ्जाबका कप्तान रविचन्द्रन आश्विन १९औँ ओभरको दोश्रो बलमा आउट भए। पञ्जाबलाई जितका लागि ५ बलमा २१ रन आवश्यक रहेको अवस्थामा आश्विनको क्याच विपक्षी टोलीका कप्तान कोहलीले समाते।
क्याच समातेपछि स्पष्ट रुपमा बुझिने गरी कोहलीले व्यङ्ग्यसमेत गरे। उनको हाउभाउबाट ‘यसरी क्याच समाएर आउट गर्नुपर्छ, नन् स्ट्राइकर ब्याट्सम्यानलाई रनआउट होइन’ भन्ने भाव प्रष्ट हुन्थ्यो। दुई कप्तानको टसल त्यतिमै अन्त्य भएन, पभेलियन फर्किएका आश्विनले मैदान भित्रैबाट पञ्जा फालेका थिए। उनको त्यस किसिमको अभिव्यक्तिबाट आफ्नै कर्मको व्यङ्ग्य सहन नसकेको बुझिन्थ्यो।
४. फाइनलमा ब्राभो–पोलार्ड ड्रामा
समूहचरण, प्लेअफ, इलिमिनेटर र क्वालिफायर हुँदै मुम्बई र चेन्नई फाइनलमा पुगे। हैदरावादस्थित राजीव गान्धी स्टेडियममा भएको पहिलो इनिङमा मुम्बईले टस जितेर ब्याटिङ रोज्यो। पहिलो इनिङको अन्तिम ओभरमा मुम्बईका किरोन पोलार्ड ब्याटिङ गर्दै थिए, अनि चेन्नईका ड्वेन ब्राभो बलिङ।
ओभर १९औँ ओभरको दोश्रो बल। ब्राभोले फालेको बल पूर्ण रुपमा वाइड देखिन्थ्यो। तर एम्पायरले कुनै इशारा नगरेपछि ३२ औँ जन्मदिन मनाइरहेका पोलार्डले अजिब ढङ्गले रिस व्यक्त गरे। एम्पायरले वाइड नदिएपछि पोलार्डले ब्याट लगभग ५ मिटर माथि फालेका थिए। १९ ओभरको तेस्रो बल आधिकारीक मानिएपछि चौथो बलका लागि उनी स्टम्पभन्दा बाहिर गएर उभिएका थिए। ब्राभो दौडिएपछि त झन उनी पिच नै छाडेर बाहिर गए। त्यति मात्र नभएर एम्पायर कुरा गर्न जाँदा पनि उनले बेवास्ता गर्दै आकाशतर्फ हेरेर बसेका थिए।
५. बेस्ट बलिङ फिगरः अल्जारी जोसेप
क्यारेबियन बलर अल्जारी जोसेपले आफ्नो डेब्युमै आईपीएलमा अद्भूत कीर्तिमान बनाए। हैदरावादविरुद्धको खेलमा मुम्बईबाट पहिलो पटक मैदानमा उत्रिएका २२ वर्षिय युवा खेलाडीले बेस्ट फिगर बलिङको कीर्तिमान बनाए। जोसेपले २००८ मा राजस्थानका सोहेल तनविरले बनाएको ४ ओभरमा १४ रन दिँदै लिएको ६ विकेटको कीर्तिमान तोड्दै ३ ओभर ४ बलमै ६ विकेट लिनका लागि १२ रनमात्र खर्चिए।