काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल)को १२औँ संस्करणको फाइनल खेल आइतबार हुँदैछ। हैदारावादमा अवस्थित राजीव गान्धी स्टेडियममा हुने खेलमा ३-३ पटकका विजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स आमने सामने हुँदैछन्।
नेपाली समयअनुसार साँझ पौने ८ बजे शुरु हुने खेलको नतिजाले यस सिजनको विजेताका साथै सर्वाधिक सफल क्लबको पनि निधो गर्नेछ। यसअघिका १२ संस्करणमध्ये ३-३ पटक उपाधि उचालेको यिनै २ क्लब अहिलेसम्मका सफल टोली हुन्।
विश्वको सर्वाधिक ठूलो फ्रेन्चाइज टी-२० प्रतियोगिता आईपीएलको फाइनलमा पैसाको खोला बग्ने निश्चित छ। मार्च २३ देखि शुरु भएको प्रतियोगितको विजेताले २० करोड भारतीय रुपैयाँ प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले १२ करोड ५० लाख प्राप्त गर्नेछ।
विजेता, उपविजेता, सर्वाधिक रन र सर्वाधिक विकेट टेकरको पुरस्कारको राशीमा मात्र करिब ३२ करोड,
त्यस्तै सर्वाधिक रन (ओरेन्ज क्याप) र विकेट टेकर (पर्पल क्याप) होल्डर खेलाडीले १०-१० लाख रुपैयाँ प्राप्त गर्नेछन्। हैदरावादका लागि १२ खेलमा ६ सय ९२ रन जोडेका डेभिड वार्नरको नाममा ओरेन्ज क्याप लगभग निश्चित रहेको छ। सर्वाधिक रन जोड्ने शीर्ष ५ खेलाडीको सूचीमा १ खेल बाँकी रहेका मुम्बई इन्डियन्सका क्विन्टन डि कक मात्र रहेका छन्। उनले १५ खेलमा ५ सय रन जोडेका छन्।
तर पर्पल क्यापको सन्दर्भमा भने यस्तो निश्चित देखिँदैन। १२ खेलमा २५ विकेट लिएका दिल्लीका कागिसो रवाडा शीर्ष स्थानमा रहँदा चेन्नईका इमरान ताहिर १६ खेलमा २४ विकेट बटुलेर दोस्रो स्थानमा रहेका छन्। आजको खेलमा २ विकेट लिन सके पर्पल क्यापको विजेता उनी हुनेछन्।