काठमाडाैँ - सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
रमजानका अवसरमा शनिबार दिइएको शुभकामना सन्देशमा उनले यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै धार्मिक सांस्कृतिक सद्भाव र भातृत्वको विकास गर्न सबैलाई प्रेरणा दिने उल्लेख गरेका छन्।
सभामुख महराले सन्देशमा भनेका छन् “बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन्, हाम्रो संविधानले सबै धर्म, भाषा, संस्कृति, सम्प्रदाय, जाति र भूगोलको समान अस्तित्वलाई स्वीकार गरेको छ।”
सन्देशमा नेपाली विविध धर्म, संस्कृति, चाडपर्व र परम्पराका धनी रहेको उल्लेख गर्दै उनले यहीँ विविधताले नै विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको जनाएका छन्। सन्देशमा भनिएको छ, “यस्ता चाडपर्व र संस्कृतिहरुले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्, यहीँ विविधताभित्र रहेको इस्लाम धर्मावलम्बीहरुको विशेष पर्व रमजान पनि एक रहेको छ।”
इस्लाम दर्शनअनुसार रमजान पर्वमा मुस्लिम समुदायले महीनाभर रोजा अर्थात् व्रत बस्ने गर्दछन्। यसपर्वको मुख्य सन्देश भनेको मानिसलाई सत्मार्गमा डोर्याउनु, विनम्र, संयम, सहनशील, परोपकारी, दयालु र सदाचारी बनाउन प्रेरित गर्नु हो।