इटहरी - नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समृद्ध मुलुक निर्माणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्ने बताएका छन्।
वैशाख २५ गतेबाट शुरु भएको कांग्रेसको राष्ट्रिय जागरण अभियानलाई सम्मबोधन गर्न सुनसरी पुगेका नेता आचार्यले सरकारलाई दुई तिहाईको दम्भमा परेर स्वेच्छचारिता नअपनाउन आग्रह गरे। प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारसँग मिलेर विकास निर्माणमा अगाडि बढ्न तयार भएको तर प्रधानमन्त्री केपी शर्मा ओली निषेधको राजनीति गर्न लागेको उनको आरोप छ।
उनले भने, वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरण, बालुवाटार प्रकरणलगायतका धेरै प्रकरणमा प्रधानमन्त्री आफैँ दोषीको बचाउमा लागेको छ, यसैगरी, भ्रष्टाचार र अत्याचारको बचाउमा सरकार लागेकाले सरकार मात्र होइन देश र लोकतन्त्र नै कमजोर बन्दै गएको छ।
सरकारले गरेका तिनै गलत कामको भण्डाफोर गर्न काङ्ग्रेस महाअभियानमा लागेको बताउँदै सरकारको रबैयाले देश र जनता चिन्तित हुनुपर्ने अवस्था सिर्जना भएको बताए। उनले सरकार कानुन बनाएर भन्दा चिठी लेखेर नागरिकता वितरण गर्न लागेकोमा आपत्ति जनाएका छन्।
कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहताले अहिले काङ्ग्रेस हारेको तर जनता नहारेको बताएका छन्। ‘हिमाल पहाड, तराई-मधेस, नेपाली काङ्ग्रेस’ राष्ट्रिय जागरण कार्यक्रमलाई सम्बोधन गर्दै मेहताले अहिले संसदमा काङ्ग्रेसको उपस्थिति कमजोर भए पनि काङ्ग्रेसको एजेन्डाको जीत भएकाले नेपाली जनताको जीत भएको बताएका छन्।
उता धनकुटामा पनि संगठनलाई सशक्त र गतिशिल बनाउन नेपाली कांग्रेस धनकुटाले बुधबार धनकुटामा जागरण ¥याली सहित जागरण अभियानको प्रारम्भ गरेको छ। गाउँगाउँमा र टोल टोलमा कांग्रेसलाई सशक्त बनाउने उदेश्यले संचालन गरिएको राष्ट्रिय जागर अभियानको आज धनकुटामा नेपाली कांग्रेसका नेता पूर्व राज्य मंन्त्री दिपक खड्काले उद्घाटन गरे।
यसैगरी नेपाल महिला संघकी केन्द्रीय सदस्य शोभा चेम्जोंग लिम्बुले बर्तमान सरकारले बलात्कारी तथा भष्टाचारीहरुलाई कारवाही गर्ने नसकेकोले ओली सरकारले महिला तथा बालबालिकाहरुको सुरक्षा गर्न नसक्ने बताए।
धनकुटाको नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको जागरण ¥यालीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रममा गरी धनकुटा बसपार्का पुगी जागरण अभियानको उद्घाटन कार्यक्रम र जागरण सभामा परिणत भएको थियो ।