काठमाडाैँ - ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु,’ प्रधानमन्त्री केपी ओलीले शुरुमै यहि वाक्य बोलेपछि तत्काल कांग्रेस सांसदहरू उठेर विरोध जनाए ।
मंगलबारको संसद बैठकमा उनीहरूले प्रधानमन्त्रीको ओलीकाे अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरे । सभामुख कृष्णबहादुर महराले प्रतिपक्षी सांसदलाई शान्त पार्न प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । रेकर्डबाट हटाउने-नहटाउने निर्णय पछि गर्ने भन्दै सांसदहरूलाई बस्न आग्रह गरे ।
प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस्, कुन प्रकारका प्रश्न प्रयोग भएका छन् ? माननीयज्यूलाई आफ्नो प्रश्नको जवाफ चाहिएको छ कि छैन ? प्रश्न सोध्ने अधिकार हो । तर, अपशब्द सोध्ने अधिकार होइन ?’
कांग्रेसको अवरोधबीच सभामुख महराले प्रधानमन्त्री ओलीलाई अघि बढ्न अनुमति दिए । ३० जना सांसदले उठाएको दर्जनौँ प्रश्नअघि प्रधानमन्त्रीले मुस्किलले तीन मिनेट मात्रै बोल्न पाए । तर प्रधानमन्त्रीले यी प्रश्नको जवाफ भने दिन पाएनन् ।
प्रेम सुवाल : १२ हजार अस्थायी–करार शिक्षक आन्दोलनरत छन् । अयोग्य भए किन भर्ना गरियो रु कुन–कुन देशको राष्ट्रपतिले मेरो सरकार भन्ने चलन छ ?
दिव्यमणिराज भण्डारी : प्रकृतिको अनुकूलले आलु र धानको उत्पादन बढ्यो, जस प्रधानमन्त्रीले लिनुभयो । व्यवस्थापनको कमी–कमजोरी र भिजनको कमजोरीले परियोजना सोचेअनुसार नभए यो सरकारले लिन्छ कि लिन्न ?
पुष्पा भुसाल गौतम : बलात्कारपछि हत्या गरिएका निर्मला पन्तका हत्याका अपराधी अझै पनि जेल जान बाँकी छ । त्यो कहिले जेल जाने ?
सुजाता परियार : दलित समुदाय र पिछडिएको समुदायको सम्बोधन गर्ने नीति तथा कार्यक्रम आएन । सरकारले कस्तो समृद्धि चाहेको हो ?
गगन थापा : राष्ट्रपतिको सरकारको प्रधानमन्त्रीले वाइडबडी खरिद, बालुवाटार प्रकरणमा दोषीलाई कारबाही गर्न अभूतपूर्व काम गरेको भन्नुभयो । छानबिन गर्ने निकाय एकातर्फ फैसला दिने प्रधानमन्त्री ?
डिला संग्रौला पन्त : भ्रष्टाचारमा यो सरकार चुर्लुम्म डुबेको छ । भ्रष्टाचार रोक्नेभन्दा गर्नेलाई संरक्षण गर्दै हुनुहुन्छ । भ्रष्टाचारको जगमा आर्थिक समृद्धि कहाँ हुन्छ ?
पार्वती डिसी चौधरी : निर्मला पन्तको हत्यारा कहिले पत्ता लाग्छ रु एनसेलको कर कहिले उठाउने ?
राजेन्द्रकुमार केसी : ३३ किलो सुन कहाँ छ ?
सञ्जयकुमार गौतम : आपत्कालीन हवाईजहाज अवतरण गर्ने राजमार्ग बनाउने कुरा आयो । तर, सडक व्यवस्थित बनाउँदा राम्रै हुन्थ्यो कि ?
देवेन्द्रराज कँडेल : भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्नुभयो । मार्सी चामलदेखि बालुवाटारमा बिहान–बेलुका आउनेको लिस्ट जारी गरियो भने भूमाफिया छन् कि को छन् थाहा हुन्छ ।
शरत्सिंह भण्डारी : संविधान संशोधनको विषय उठायौँ । बोल्ने एउटा लेख्ने अर्को किन गर्नुभयो ?
अनिलकुमार झा : तुइन विस्थापित गर्न पटक–पटक जोड गर्नेले घाट–घाटमा बनेको पुल बजेट नभएर रोकिएको छ । कहिले बनाउने ?
उमा रेग्मी : राष्ट्रपति महिला उत्थान कार्यक्रम, कस्ता महिलालाई कसरी उत्थान गर्ने कार्यक्रम हो ?
मीनेन्द्र रिजाल : राष्ट्रपतिले मेरो सरकार भन्नुभयो । संविधानमा राष्ट्रपतिको मातहत सरकार राखेको छैन । संविधानले पूर्ण प्रेस स्वतन्त्रता भन्छ, सरकार नियामक निकाय बनाउँछु भन्छ । तपाईंको बोली जनतालाई ख्यालठट्टा लाग्न थालेको छ । यो व्यवधान कहिले अन्त्य हुन्छ ?
ज्ञानेन्द्रबहादुर कार्कीः गत साल पाँच वर्षभित्र कुनै नेपाली विदेश जानुपर्दैन भन्ने कार्यक्रम थियो । एक वर्षमा कतिले रोजगारी पाए ?
मीनबहादुर विश्वकर्मा : कोसीमा स्टिमर के देख्नुभएको थियो, बारम्बार पानीजहाजको गीत गाउनुभयो । त्यो स्थानीयले ०६१ देखि नै ल्याएका हुन् । घरघरमा पाइपबाट ग्यास कहिले आउँछ ?
महेन्द्र राय यादव : तराईमा जनसंख्याका आधारमा बजेट जान्छ कि जाँदैन ? फास्ट ट्र्याक कहिले बनिसक्छ ?