काठमाडौँ - नेपाल कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने शब्दावलीले पुरानो अधिनायकवादी शासकहरूको मनोवृत्तिलाई झल्को दिएको बताए।
सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनले अधिनायकवादी चरित्रको पक्षपोषण गर्छ भन्ने आफ्नो निष्कर्ष रहेको बताए।
‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन। नत राष्ट्रपतिज्यूले भन्नु भएजस्तै उहाँको सरकार हो।’, उनले भने, ‘यो त सबैखालको तानाशाही, निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो।’
महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, वस्तुनिष्ट र तर्कसम्मत नभएको भन्दै सरकारको कामको मात्रै प्रशंशा गरिएको बताए। उनले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरुमा विश्वसनीयता नदेखिएको बताए।