काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले लाखौँ खर्च गरेर चुनाव लड्न नसकिने बताएका छन्। राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार कार्ल माक्र्सको २०१औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले लोकतन्त्र धनाढ्य वर्गको हातमा परेको दाबी गरे।
उनले भने, ‘लोकतन्त्र धनाढ्यहरूको बन्यो, अहिलेको लोकतन्त्रको रूप हेर्ने हो भने हामी समाजवादमा पुग्न सक्दैनौँ। पूँजीवादी लोकतन्त्रको नाैका चढेर समाजवादमा पुगिन्छ भनेर सपनासमेत नदेखे हुन्छ। मेरो अनुभव सेयर गर्न चाहन्छु, मैले पहिलो चुनाव हजार खर्चेर लडे, पछिल्लो चुनावमा लाख खर्च भयो, फेरि पनि यथास्थितिमा चुनाव लड्न पठाउनु भयो भने बाबा म लाखौँ खर्चेर चुनाव लड्न सकिँदैन भनेर भन्नुपर्ने हुन्छ।’
केही कार्यभार रहेको बताउँदै नेता खनालले लोकतन्त्र सुदृढ गर्नुपर्ने बताए। उनले भने, ‘जनवादी क्रान्ति सम्पन्न हुनु भनेको समाजवादी यात्राको शुरुआत हुनु हो। लोकतन्त्रको भरपुर उपयोग गर्ने हो, दुरुपयोग होइन, लोकतन्त्र परिमार्जित गर्नुपर्नेछ, लोकतन्त्र जनताको तन्त्र बनाउनु छ। अहिले निम्नस्तरीय जनताको लोकतन्त्र बन्न सकेको छैन।’
समाजवाद निर्माण र समाज रूपान्तरणका लागि मुख्यतः ६ वटा कार्यभार पूरा गर्नुपर्ने खनालको भनाइ छ। उनले अघि थपे, ‘हाम्रो देशका प्रधानमन्त्रीको कार्यभार, हाम्रो सरकारको कार्यभार, हाम्रो पार्टीको कार्यभार लोकतन्त्रलाई सदृढ गर्नु नै हो। हामीले लोकतन्त्रलाई परिमार्जित गर्न सकेनौँ भने युगको दायित्व पूरा गर्न सक्दैनौँ, हाम्रो राष्ट्रियता बलियो बनाउनु पर्छ, सुशासन कायम राख्नुपर्छ, उत्पादन बढाउनु पर्नेछ, सांस्कृतिक रूपान्तरण गर्नुपर्छ र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ। यति गर्न सकेको खण्डमा हामी समाजवादको यात्रामा प्रवेश गर्छौं।’