काठमाडौँ - कार्ल मार्क्सकाे २०१औं वार्षिकी समारोह २०७६’ का संयोजक एवम् नेकपाका नेता घनश्याम भुसालले पार्टी वैचारिक रूपमा कमजोर बन्दै गएको र दलाल पुँजीपतिहरूको चंगुलमा परेको बताएका छन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अथिति रहेको उक्त कार्यक्रममा नेता भुसालले समृद्धि ल्याउने नाममा वैचारिक धरातल कमजोर बनाएर उत्ताउलो हुँदै हिँड्ने समय नरहेको स्पष्ट पारे।
राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आइतबार आयोजित कार्यक्रममा नेता भुसालले भने, ‘समृद्धिको डुंगा हिमपत्थरमा गएर दुर्घटना नहोस्। यो जनमतले हामीलाई कुनै पनि हिसाबले उत्ताउलो हुन दिँदैन। कुनै पनि हिसाबले हामीलाई आत्तिन र मात्तिन दिँदैन, समाजवादको सपना देखिरहँदा हामी दलाल पुँजीवादको चंगुलमा परिरहेका छौं। यसबाट मुक्त नहुने हो भने हामी ठूलो दुर्घटनामा पर्छौं।’
कम्युनिस्ट पार्टीले किन यति ठूलो जनमत प्राप्त भयो भनेर ख्याल गर्नुपर्ने भुसालले बताए। यो जनमतलाई हिजो राजाले खाए, त्यसपछि कांग्रेसले खाए, आज हामी खान्छौं भन्ने ढंगले बुझियो भने ठूलो दुर्घटना हुनेछ,’ उनले भने।
नेताले आफूलाई पार्टीभन्दा माथि ठान्न थालेको उनको आरोप थियो। नेताहरुको त्यही शैलीका कारण यति ठूलो भएर पार्टीले प्रभाव छोड्न नसकेको हाे, अहिले कुन तस्कर र व्यापारीको पक्षमा को छ ? भनेर विवाद गर्ने अवस्था आएको छ। दिनमा सयजना दलाल पुँजीपतिहरूसँग भेट हुने अवस्था छ, बिहान भन्सार छल्ने दलाल आउँछ, दिउँसो आफ्नै पार्टीको नपढाउने शिक्षक आएर भेट्छ, साँझ भूमाफिया आयो अब त पाइलैपिच्छे दलालसँग ठोक्किने अवस्था छ’, उनले भने।
समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउँदा दलाल पुँजीवादबारे चुइँक्क नबोल्ने विडम्बनापूर्ण भएको भुसालको भनाइ थियो। नेता भुसालले पार्टी, अदालत, अख्तियार, खास बेलामा काँध थाप्ने मिडिया र सुरक्षा निकायसम्मको गठबन्धन हुने आरोप लगाए। उनले भने, यो दलाल पुँजीवादी गठबन्धन हो, छिसिक्क आँखा झिम्क्याएपछि, होस् गुमाएपछि कसरी समृद्धि हुन्छ ? दन्त्य कथाको किचकन्याले गरेको जस्तो।’
नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले म पनि भ्रष्टाचार गर्दिन र अरुलाई गर्न पनि गर्न दिन्न भनेर बारम्बार भन्ने गरेको अभिव्यक्तिप्रति चर्को व्यङ्ग्य गरेका थिए। ‘बासुकी नागको फोटो टाँसेर म सर्पबाट सुरक्षित भएँ भनेजस्तो हो’, उनले प्रश्न गरे, म भ्रष्टाचार गर्दिन भन्ने नारा राम्रो हो। तर, तल के भइरहेको छ भन्ने कुरा हेर्नु पर्दैन ?’
नेता भुसालले १९१८ सोभियत संघमा जनाताभन्दा पार्टी ठूलो हो भन्ने भ्रमका कारण त्यहाँको कम्युनिजम सकिएको स्मरण गराउँदै भने, ‘हाम्रो देशमा ठिक एक सयवर्ष पछि हामी सत्तामा पुगेका छौं, हाम्रोमा पनि त्यहि झल्को आइरहेको छ। नयाँ वर्गको बारेमा ख्याल गरिएन भने खतरा हुन्छ। निर्वाचन जित्नेको लागि उम्मेद्वार छान्ने कि कसले कति पैसा खर्च गरेर चुनाव जित्छ भन्ने ? या चुनाव सत्ताका लागि मात्रै लड्ने ?’
मानिसको खुसिका लागि पहिलो गन्तव्य समाजवाद भएको दाबी गर्दै नेता भुसालले वर्तमान समयमा नेकपामा देखिएको विलाशीताले क्रान्ति अफ्ट्यारोमा पर्ने जिकिर गरे। उनले भने, ‘आज हामीले कसलाई ताकिरहेका छौ ? समाज कहाँ छ ? जसका लागि हामीले हिजो भाषण गयौं, जसका निम्ति बोल्यौं, जसको साहस र योगदानले हामीलाई सत्तामा पुर्यायो आज ति पंक्ति कहाँ छन् ?’
उनले भने, मेरो छोरी युरोपका वेश्यालयमा नाचिरहँदासम्म मेरो देशमा समाजवाद आउँदैन। शूरुमा हामी दलाल पूँजीवादको विरुद्धमा बोल्न सकौं, पहिले पार्टीभित्र सत्यनिरुपण गरौं, त्यसपछि मेलमिलाप गरौंला, आज भन्न सक्नुपर्छ सत्यानाश रोज्ने कि समाजवाद ?’ कार्यक्रममा नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राम कार्की लगायतले कार्लमार्क्सको सिद्धान्त, समाजवाद र पुँजीवादको अवस्थाबारे सैद्धान्तिक टिप्पणी गरेका थिए।