काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे भ्रातृ संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गराउन माग गर्दै आज (आइतबार) बिहान ११ बजे नेपाल आयल निगममा ध्यानाकर्षण पत्र बुझाउने भएकाे छ।
ध्यानाकर्षण पत्र बुझाएर मात्रै पेट्रोलिय पदार्थको मुल्यवृद्धि र महंगी नियन्त्रण हुन्छ ? भनेर अनेरास्ववियुका अध्यक्ष आचार्यलाई प्र्रश्न सोधेका थियौं। उक्त प्रश्नको जवाफमा उनले भने,‘अहिलेका लागि ध्यानाकर्षण पत्र नै एक सांकेतिक आन्दोलन हो। निगमले मुल्यवृद्धि फिर्ता गरेन भने, सरकारले जनताका जनजीविकालाई सम्बोधन गरेन भने, हामी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौं।’
आफ्नै माउ पार्टीको सरकार छ, साँच्चै तपाइहरु महंगीको विरोधमा आन्दोलन गर्नु हुन्छ भनेर सोधिएको अर्को प्रश्नको उत्तरमा उनले भने, ‘सरकार कुन पार्टीको छ, के छ, को सत्तामा छ, त्यसले खास अर्थ राख्दैन, हाम्रो संठगन जहिले प्रतिपक्ष हो, जनताको पक्षमा काम गर्ने संगठन हो, त्यसैले सरकारका राम्रा कामको प्रसंशा गर्ने र नराम्रा कामको विरोध गर्ने संगठनको नीति हो।’
त्यस्तै हिजाे शनिबार अनेरास्ववियू (क्रान्तिकारी) को कार्यालय बागबजारमा बसेको संयुक्त बैठकले आगामी बजेटमा शिक्षामा कुल बजेटको २५ प्रतिशत विनियोजन गर्न माग गरेका छन्।
साथै विद्यार्थीलाई प्रमाणपत्रको आधारमा शैक्षिक ऋण उपलब्ध गराउने निर्णयको प्रभावकारी कार्यान्वयन गराउन अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्यले जानकारी दिएका छन्।
अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामांग र अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मि आचार्यको हस्ताक्षर रहेको विज्ञप्तिमा वैशाख २४ गते ‘नागरिकता विधेयक समस्या र समाधान’ विषयक अन्तरक्रिया गर्ने, आगामी जेठ १ गते विद्यार्थी दिवसको सन्दर्भमा राजधानीमा प्रभातफेरि कार्यक्रम गर्ने र त्यस उपलक्ष्यमा देशैभरका मातहत कमिटीहरुलाई संयुक्त कार्यक्रम गर्न निर्देशित गर्ने निर्णय गरिएको उल्लेख छ।
