काठमाडौँ - सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण हुने भएको छ। दुवै पार्टीबीच आज (शनिबार) भएको छलफलले यही सोमबार (वैशाख २३ गते) एकीकरणकाे घोषणा गर्ने समझदारी भएको हो।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ। ‘केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक समझदारी भएको’ समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
समाजवादी पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद तथा शोषणको अन्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ। (रासस)