विराटनगर - प्रदेश १ को राजधानी र नाम तय गर्न विराटनगरमा बसेको नेकपाको बैठकले प्रदेश १ को राजधानी विराटनगर राख्ने तय गरेको छ। नाम भने अर्को अधिवेशनले टुंगो लगाउने सहमति जुटेको बैठकमा सहभागी एक नेताले बताएका छन्।
राजधानी बृहत् विराट क्षेत्रको विराटनगरमा हुनेछ। राजधानीको संरचना विराटनगर, इटहरी र गोठगाउँमा रहने तय गरिएको छ भने राजधानीको संरचनामा कार्यपालिका र व्यवस्थापिका रहनेछ।
तीन दिनदेखि प्रदेश एक संसदमा सहभागी दलका प्रतिनिधि र विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने नेकपा सांसदसँगको रायका आधारमा अन्तिम निर्णय लिइएको हो।
नामका बारेमा भने पुनः विस्तृत छलफल गरेर सबैलाई मान्य हुने निर्णय आउने बताइएको छ। नेकपा संसदीय दलको बैठक भने आइतबार १ बजेलाई बोलाइएको छ।