काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपाको दुई तिहाई सरकार जनताको भावनाविपरीत अघि बढिरहेको टिप्पणी गरेका छन्। मजदुर दिवसको अवसरमा वैशाख १७ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो टिप्पणी गरेका हुन्।
सँगै मञ्चमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै अध्यक्ष केसीले जनयुद्ध कसले गराएको थियो ? भन्दै प्रश्नसमेत गरेका थिए। सो कार्यक्रममा अध्यक्ष केसीले बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ।
उनले भने, ‘कुनै बेला प्रचण्डले हामीलाई तिमीहरू बुढा भयौ, रगत चिसो भयो, समाज बदल्न सक्दैनौ भन्नुभएको थियो। हामी समाजलाई फ्याट्ट बदल्छौं भन्नुहुन्थ्यो, खै त बदलेको ? हिजोका भ्रष्ट, दलालहरू र आजका सत्तामा बसेका मानिहरूबीच के फरक छ ?’
उनले अगाडि भने,‘हाम्रा साथीहरू जुन नामबाट सत्तामा बसिरहनु भएको छ, त्यसको आधारमा नेपाली जनतालाई के दिनु भएको भयो ? सक्नु भयो महंगी नियन्त्ररण गर्न ? सक्नु भयो भ्रष्टाचारीलाई कारबाही गर्न ?’
अध्यक्ष केसीले कम्युनिष्टको नाममा राजनीति गर्ने नेपाली नेताहरूले जनतालाई भ्रममा पारेको आरोप लगाए। उनले भने, ‘हिजोका दलालहरू र आजका कम्युनिष्ट नेताहरूमा कुनै भिन्नता देखिँदैन। हुँदाहुँदा बालुवाटारको जग्गा प्रकरणमा पार्टीका जिम्मेवार कमरेड मुछिएका छन्। कति असहज भयो ? जनताको जीवनस्तर उही छ, उस्तै छ।’
उनले भने, ‘सब थोकको छिनोफानो गर्छु भन्दै हतियार उठाउनुभयो, आज तपाईंहरूले गरेको छिनोफानो यही हो ? हत्या, हिंसा, बलात्कार, महँगीजस्ता उपहारहरू पाउनकै लागि जनताले तपाईंहरूलाई मत दिएका थिए ?’
उनले अघि थपे, ‘कम्युनिष्टको नाममा शक्ति आर्जन गर्नुभयो, सत्तामा पनि पुग्नुभयो। तर, जनतालाई माछोमाछो भ्यागुतो बनाउनुभयो। अहिले पनि सरकार चलाइरहेको पार्टीको नाम कम्युनिष्ट नै त छ, के पाए त नेपाली जनताले?’
फरक प्रसंगमा अध्यक्ष केसीले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गरिनु आपत्तिजनक भएको बताउँदै भने, ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्र छुट्याउनुमा हाम्रोभन्दा छिमेकीको चासो र खाँचो बढी थियो। यसैका विरुद्धमा यही चिसो रगत भएको बुढो मान्छेले संसदमा यसको विपक्षमा मतदान गरेको होइन ? त्यो कुरा तपाईंले बिर्सिनुभयो। कामरेड?’