काठमाडौँ - प्रमुख प्रतिपक्ष दल कांग्रेसका उपसभापति विमलेन्द्र निधीले तत्काल श्रमिक आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिक आयोग गठनका लागि सरकारलाई आवश्यक सहयोग गर्न आफनो पार्टी प्रतिवद्ध रहेको बताए।
उनले विदेशमा रहेका श्रमिकहरुलाई त्यहीँबाटै मतदान गर्ने कानुनी व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुनेमा जोड दिए। उनले ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा आएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नै पालामा आए जसरी झुठो प्रचार गरिरहेको दाबी गरे।
देउवा नेतृत्वको सरकारले ल्याएको ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन’ लिच्छवी कालमा वा मल्ल कालमा ल्याए जसरी प्रधानमन्त्री केपी ओलीले झुठो प्रचार गरेको भन्दै आपत्ति जनाए। निधीले नेपालमा श्रमिकहरुको अधिकारको क्षेत्रमा उल्लेख्य सफलता हासिल भएको समेत बताए।