एजेन्सी - उत्तर प्रदेशको बाराणासी क्षेत्रबाट मोदीविरुद्ध चुनावमा उठेका पूर्व प्रहरीको उम्मेदवारी त्यहाँको निर्वाचन आयोगले रद्द गरिदिएको छ।
आयोगले सरकारी कामबाट बर्खास्त भएका कर्मचारीले पाँच वर्ष नकटाई चुनाव लड्न नपाउने भएका कारण उम्मेदवारी रद्द गरेको जनाएको छ।
भारत र पाकिस्तानको सीममा काम गर्ने पूर्व प्रहरी जवान तेजबहादुर यादवलाई दुई वर्षअघि पदबाट बर्खास्त गरिएको थियो।
दुई साल पहिले उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थियो। सन् २०१७ मा पाकिस्तान र भारतको सीमामा काम गर्दा आफूहरुलाई ‘क्वालिटी’ नभएको खाना दिइएको आरोप यादवले लगाएका थिए। त्यो आरोप ‘झुट’ भएको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको थियो।
यादव उत्तर प्रदेशको बाराणासी निर्वाचन क्षेत्रबाट मोदीविरुद्ध समाजवादी पार्टी र बहुजन समाज पार्टीको सहयोगमा उम्मेदवार बनेका थिए। बाराणासी क्षेत्रमा यी दुई क्षेत्रीय पार्टीले मोदीविरुद्धको चुनावी सम्मेलनहरु तीव्र बनाएका छन्।
दुई क्षेत्रीय पार्टीले भारतीय जनता पार्टी र कंग्रेस पार्टीलाई त्यहाँको चुनावमा हराउन निकै कसरत गरिरहेका छन्। पूर्व प्रहरी–यादव, मोदीविरुद्ध खरो रुपमा उत्रिएपछि दुई क्षेत्रीय पार्टीको सहयोगमा बाराणासी निर्वाचन क्षेत्रबाट यादवले मोदीविरुद्ध उम्मेदवारीमा नाम दर्ता गरेका थिए। उनी यसभन्दा अघि चुनावमा लडेका थिएनन्। सन् २०१४ मा त्यही क्षेत्रबाट चुनाव लडेका मोदी तीन लाखभन्दा बढी मतका साथ विजयी भएका थिए।
पूर्व प्रहरी यादवले सेवामा हुँदा आफूहरुलाई कम गुणस्तरको खाना दिइएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेपपछि उनीप्रति सहनुभूति प्रकट गरिएको थियो।
उनलाई धेरै नागरिकले साथ पनि दिएका थिए। उनले मोदीलाई आफ्नो स्वार्थका लागि सुरक्षा संयन्त्रको प्रयोग गरेको आरोप समेत लगाएका थिए।
उम्मेदवारीबाट बर्खास्त भएका पूर्व प्रहरी यादवले समाजवादी पार्टी र बहुजन समाज पार्टीको पक्षमा चुनावी सम्मेलनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।