काठमाडौँ - आज मे दिवस। मे १ तारिखका दिनलाई विश्वभर श्रमिक दिवसको रुपमा भव्यताका साथ मनाइन्छ। ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नाराका साथ सन् १८८६ मा अमेरिकाको सिकागोबाट शुरु भएको हो, श्रमिक दिवस। ‘आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जन’ भन्ने नाराका साथ विश्व श्रमिक दिवस मनाउन लागिएको हो।
यस अवसरमा विभिन्न राष्ट्रहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै यो दिवस मनाइन्छ। आजको दिनलाई विश्वमा अन्तराष्ट्रिय श्रमिक आन्दोलनको पर्वको रुपमा लिइन्छ। ८० भन्दा बढी राष्ट्रहरुमा आधिकारिक रुपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरुमा सामान्य रुपमा मनाइन्छ।
१९औँ शताब्दी लाग्नुअगावै सन् १८८६ को मे महिनाको ४ तारिखमा अमेरिकाको सिकागोमा हेय मार्केट काण्ड भएको सम्झनामा मे १ लाई श्रमिक अनि श्रमसँग सम्बन्धित मुद्राको लागि विशेष अन्तराष्ट्रिय दिवसका रुपमा मनाईन्छ। यस दिन श्रमिकहरुले दैनिक रुपमा ८ घन्टा काम गर्ने वातावरणका लागि भनेर गरिएको आन्दोलनमा एक अपरिचितले प्रहरीमाथि बम फालेको र बदलामा प्रहरीको जवाफी हमलामा धेरैजना निर्दोषहरुको ज्यान गएको आततायी घटनाको सम्झनास्वरुप मे १ मनाउन थालिएको हो।
स्मरण रहोस्, त्यो आन्दोलन हुनुअघि सामान्यतया संसारभरिका कामदारहरुले दैनिक १६ घन्टा सम्म पनि कार्य गर्दथे। मे दिवसले श्रम क्षेत्रमा एउटा यूगान्तकारी परिवर्तन ल्याएको छ। आजको बढ्दो श्रम सहज समाजको श्रेय र परिकल्पनाको खाका यसै दिनबाट शुरु गरिएको हो। कुनै दिन घरमा आरामले बसिरहँदा हप्ताको एक दिनको विदा अनि कार्यालय समयको निर्धारण गरि ८ घन्टा गराउन यसै दिन धेरै जना श्रमिकले ज्यान गुमाएका थिए।
श्रमिक दिवस मनाउनुको मुख्य उद्देश्य भनेको प्रत्येक श्रमिकको हक अधिकार रक्षा गरियोस भन्ने हो। अमेरिकाको सिकागो शहरमा श्रमिकहरुले आफ्नो हकको लागि लडाइँ लड्ने सङ्कल्पका साथ आन्दोलन शुरु गरेका थिए। त्यति बेला आम श्रमिकले १६ घन्टा काम गर्नु गर्नुपर्ने भएकाले त्यस नियमलाई मजदूर सङ्गठनले ब्यापक विरोध गर्दै ८ घण्टा काम र ८ घण्टा आराम गर्न पाउनुपर्छ भनि आफ्नो माग जोड्दार रुपमा पेस गरेका थिए।
सोही मागलाई लिएर सिकागो शहरको हेय बजारमा आयोजित मजदूर ¥यालि माथि अज्ञात समूहद्वारा बम प्रहार गरिएको र सो दुखद घटनामा कयौँ मजदूर सहिद हुनुका साथै केहि मजदूर घाइते पनि भएका थिए। सिकागोबाट शुरु भएको उक्त आन्दोलनको आगो विश्व भरि फैलियो यसै आन्दोलनबाट प्रेरित भएर फ्रान्सको पेरिस शहरमा सभा आयोजना गरियो।
उक्त सभामा सबैभन्दा पहिले सिकागो शहरमा सहिद भएका मजदूर प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। सन् १८८९ मा पेरिस मै भएको बैठकद्धारा प्रत्येक वर्ष मे १ तारिखका दिन अन्तराष्ट्रिय श्रमिक दिवसको रुपमा मनाइने निर्णय गरियो। उक्त दिनको सम्झनामा विश्वको मजदूरहरुले अन्तराष्ट्रिय मे दिवस मनाउँदै आइरहेका छन्।
विश्वको मजदुरले यस दिवसलाई पर्वको रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्। यसैगरी, नेपालमा पनि विराटनगरबाट २००७ सालमा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको सार्वजनिक विदा पनि दिन थालिएको हो। एजेन्सीको सहयोगमा