काठमाडौँ – २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको तयारी शुरु भएको छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ। यस पटक जेठ ४ गते परेको बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले विभिन्न समिति गठन गरेर तयारी थालेको हो।
बुद्ध जयन्तीको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५ सय ६३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाको संयोजकत्वमा पुरस्कार तथा सम्मान व्यवस्था समिति, निमित्त सदस्य–सचिव सरोज भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमित गठन गरिएको छ।
यस्तै पूजा परित्राण उपसमिति, विहार गुम्बा उपसमिति, लुम्बिनी भ्रमण वर्ष समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकूद, मञ्च व्यवस्थापन, यातायात, भोजन तथा प्रसाद, शान्ति र्याली व्यवस्थापन, सरसफाइ, वृक्षरोपण तथा स्वास्थ्य व्यवस्था उपसमिति गठन गरिएको छ।
आन्तरिक पर्यटनमा केन्द्रित भएर यस पटकको बुद्ध जयन्ती मनाउने तयारी गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले जानकारी दिए। प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेका कारण यसपटकको बुद्ध जयन्ती विशेष हुने उनले बताए। गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ। इसापूर्व ६२३ वर्ष अघि वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा बुद्धको जन्म भएको थियो।
पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो। राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किएका थिए।
वैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए। वैशाख शुक्ल पूर्णिमाकै दिन उनको महापरिनिर्वाण भएको थियो। त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो।
बुद्ध जयन्तीको अवसर पारेर विभिन्न जिल्लाका १ सय विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने छ। रुपन्देहीको, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय छात्र छात्रालाई पाँच हजारका दरले छात्रवृत्ति वितरण गर्न लागिएको कोषका प्रशासन प्रमुख तथा छात्रवृत्ति उपसमितिका सदस्य चूडामणि भट्टराईले जानकारी दिए।
बुद्ध जयन्तीका अवसरमा २ हजार ६ सय ४३ बिरुवा रोपिने भएको छ। बुद्धको महापरिनिर्वाणपछि मनाउन थालिएको बुद्ध जयन्ती २५ सय ६३ औँ वर्ष पुगेको र उनको जन्म त्यसभन्दा ८० वर्ष अघि भएकाले बुद्ध जन्मिएको २६ सय ४३ वर्ष पुगेको उपलक्षयमा सोही सङ्ख्यामा फलफूलका बिरुवा रोप्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार यो कार्यक्रम तय गरिएको विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले बताए।
बुद्धजयन्ती नजिकिँदै गर्दा लुम्बिनीमा सरसफाई अभियान चलाइएको छ। विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा विशेष सरसफाइ गरिरहेका छन्। एक हप्तादेखि श्री समरजङ्ग गण बुटवलका ५० जना नेपाली सेना सरसफाइमा जुटेको क्याप्टेन चीजकुमार श्रेष्ठले जानकारी दिए। (रासस)