काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश २ सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको बताएका छन्। ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले फोरम-राजपाको गठबन्धनको सरकारले काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताएका छन्।
उनले भने, ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ।’
उनले भने, ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो। अहिले त योजना निर्माणमा व्यक्ति व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो। यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ।’ हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ । सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ।