काठमाडौँ - आफ्ना माग सरकारले सम्बोधन गरेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका इञ्जिनीयर र प्राविधिकहरू पुनःनिर्माणको काममा फर्किएका छन्।
प्राधिकरणका झन्डै ४ हजार इञ्जिनीयर र प्राविधिकले सरकारसमक्ष विभिन्न माग राख्दै सामूहिक राजीनामा दिने घोषणा गरेका थिए।
आन्दोलनरत इञ्जिनीयर र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच वार्ता गराउनका निम्ति नेपाल इञ्जिनीयर्स एसाेसिएसनले मध्यस्थता गरेको थियो। एसाेसिएसनको मध्यस्थतामा भएको दुईपक्षीय वार्ता सहमतिमा टुङ्गिएपछि प्राधिकरणका प्राविधिकहरू पुनःनिर्माणको काममा फर्कन सहमत भएको अविनाश अमरले बताए।
प्राविधिक र प्राधिकरणबीच भएको वार्तामा प्राधिकरणका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्राविधिकहरूका तर्फबाट अविनाश अमर र राम मल्ल र नेपाल इञ्जिनीयर्स एसाेसिएसनका तर्फबाट महासचिव र उपमहासचिव क्रमशः छविराज पोख्रेल र कपिल आचार्यले प्रतिनिधित्व गरेका थिए।