काठमाडौँ - नेपाली कांग्रेसका महिला नेताहरुले पार्टीले घोषणा गरेको जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन आग्रह गर्दै पार्टीका महामन्त्री शशांक कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्।
सोमबार बिहान महासमिति सदस्य नीमा गिरीको नेतृत्वमा पार्टी महामन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाइएको हो । कांग्रेसले यहि वैशाख २५ गतेदेखि जागरण अभियान सञ्चालन गर्दैछ। उक्त अभियानमा सिमित वक्तालाई मात्र स्थान दिने गरी कार्यक्रम तय गरिनुले महिलाको प्रतिनिधित्वलाई वेवास्था गरिएको महिला नेताहरुको भनाई छ।
नेता गिरीले नेपाली पब्लिकसँग भनिन्, ‘नेपाली काँग्रेस जस्तो पार्टीले सार्वजनिक कार्यक्रम गर्दा नेपालको संविधान र आफ्नो विधानले गरेको मार्गदर्शनलाई पनि नजर अन्दाज गर्न मिल्दैन। कार्यक्रममा सभापति र प्रमुख अतिथि, विशेष वक्ता मात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात शून्य प्राय हुने अबस्था रहन्छ।’
उनले अगाडि भनिन, ‘जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरी कार्यक्रमको प्रारुप संसोधन गर्नुपर्छ।’