काठमाडौँ– नेपाली कांग्रेसको अनुशासन समितिले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई जिम्मेवार भएर बोल्न निर्देशन जारी गरेको छ। आइतबार बसेको अनुशासन समितिको बैठकले भविष्यमा कुनै पनि बरिष्ठ एंव पार्टीका जिम्मेवार नेताका विरुद्धमा र पार्टी हितका विपरितमा कुनै पनि नेता कार्यकर्ताले जथाभावी नबोल्न निर्देशन जारी गरेको हो।
नेपाली कांगे्रसले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको जागरण अभियानलाई विशेष रुपले दृष्टिगत गर्दै पार्टीका सबै नेताहरुलाई पार्टीहित विपरीत नबोल्ने सर्कुलर जारी गरेको अनुशासन समितिका सभापति भीष्मराज आङ्गदम्वेले बताए। पार्टीका शीर्ष नेताहरुबीच यसअघि चर्को आरोप प्रत्यारोप चल्न थालेपछि अनुशासन समितिले यस्तो निर्णय लिएको हो।
कांग्रेसले वैशाख २५ गतेदेखि ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गर्ने भएको छ। भविष्यमा जागरण अभियानलगायत कुनै पनि कार्यक्रममा पार्टीको संस्थागत हितभन्दा बाहिर गएर कसैले पनि अभिव्यक्ति नदिउन् भनि यस्तो निर्देशनसहित सचेत गराइएको आङ्गदम्वेले बताए।
यो निर्देशन कार्यान्वयन भए नभएको अनुमगन गर्नका लागि अनुशासन समितिले पार्टी निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्र्याटिक लयर्स एसोसियसन (डिएलए)लाई जिम्मा दिएको छ।
अनुशासन समितिले डिएलएललाई पार्टीका नेताहरुले पार्टीका नेता र हित विपरित कुनै कुरा बोलेका छन् कि छैनन् भनि अनुगमन गर्न अनुरोध गर्दै आफ्नो निर्णयमा उल्लेख गरेको छ, ‘वैशाख २५ गतेदेखि शुरु हुने नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लालाई स्थलगत अनुगमन तथा निरिक्षण गरिदिन डिएलएलाई अनुरोध गर्ने निर्णय गरिएको छ।’