काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले पत्रकारहरूलाई अदालतपरिसरभित्रै गएर पक्राउ गर्ने काम गरेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आज आइतबार नेपाल पत्रकार महासंघको नेतृत्वले बुझाएको ज्ञापनपत्र बुझ्दै त्यस्तो आलोचना गरेका हुन्।
महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वमा गएको टोलीले सभापति देउवाको निवास बूढानीलकण्ठमा पुगेरै उक्त ज्ञापनपत्र बुझाएका हुन्।
सभापति देउवाले अदालतपरिसरभित्र गएर पत्रकारहरूलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे। उनले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैव आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रका लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने उनको भनाइ थियो। उनले सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघले शुरू गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए।
उक्त ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानून, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ।