तेहरान - इरानले विवादित विषयमा छलफल गर्न अमेरिका वा साउदी अरबको आवश्यक नरहेको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले विज्ञप्ति जारी गर्दै अमेरिका र साउदी अरबको मध्यस्थता इरानमा आवश्यक नरहेको जनाएको हाे।
इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालै पश्चिमा सञ्चारमाध्यममा आएका हल्लामा जस्तो विवादित विषयमा वार्ता गर्न संयुक्त राज्य अमेरिका वा साउदी अरब कसैको पनि सहारा खोजेको छैन, यी केवल भ्रामक समाचार मात्र हुन्।”
मौसवीले भनेका छन्, “साउदी अरबसँगको प्रसङ्गमा इरानले दुई मुलुकका प्रतिनिधिबीच हज यात्रीको व्यवस्थाबारे कुराकानी भएको र दुवै पक्षले उक्त विषयलाई दुईपक्षीय राजनीतिक विषयबाट अलग गर्ने सहमति जुटिसकेको छ।”
उनले थपे, “इरानको दृष्टिकोणमा साउदी अरब खाडी क्षेत्रको एक महत्त्वपूर्ण राष्ट्र हो तर ऊ विगत केही वर्षयता अरचनात्मक धारणासहित ‘गलत’ दिशामा अघि बढिरहेको छ। यसले यस क्षेत्रमा धेरै क्षति पुगेको छ, जसका कारण समग्र अरब क्षेत्रमा सङ्कट देखिएको हाे।”
साउदी अरबले यस क्षेत्र र जनताका लागि इमानदार र सद्भावपूर्ण धारणासहित अघि बढ्नेमा समेत मौसवीले विश्वास प्रकट गरे। उनले भने, “पक्कै पनि त्यो मुद्दामा इरान साउदी अरबसँग एक क्षेत्रीय शक्तिका रूपमा आपसी समन्वयका लागि छलफल गर्न तयार रहनेछ।” (रासस/सिन्ह्वा)