कोलम्बो - सुरक्षा निकायले गरेको सुरक्षा कारबाहीका क्रममा श्रीलङ्कामा १५ जना मारिएका छन्। सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार शुक्रबार राति भएको सुरक्षा कारबाहीमा परी मारिनेमा ६ बालबालिका र ३ जना महिलासमेत छन् ।
शंकास्पद व्यक्तिहरू लुकेर बसेको सूचनाका आधारमा सुरक्षाकर्मीहरूले घेरा हालेर आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ। “देशको पूर्वी ठाउँ काल्मुनाइमा भएको भिडन्तमा परी मृत्यु हुनेमा जियादी पनि रहेका छन्। उनीहरूले आत्मघाती विस्फोट गराएका प्रहरीद्वारा जारी वक्तव्यमा उल्लेख छ।
घटनास्थलबाट प्रहरीले शनिबार बिहानै शव उठाएको छ। उनीहरूले खोजी अभियान पनि जारी राखेका छन्। झन्डै २ सय ५० भन्दा बढीको मृत्यु हुनेगरी केही दिन अगाडि ३ चर्च र ३ होटलमा भएको हमलामा आफ्नो संलग्नता रहेको भन्दै इस्लामिक स्टेट्स (आईएस) लडाकूले जिम्मेबारी लिएपछि उनीहरूविरुद्ध सरकारी सुरक्षाकर्मीहरूले खोजी तथा कारवाही अभियान तीव्र पारेका हुन्।
श्रीलङ्काको प्रहरी र सेनाले संयुक्त रूपमा सुरु गरेको खोजी तथा कारबाही अभियान आईएस लडाकूको बढी प्रभाव रहेका भनिएका क्षेत्रमा बढी केन्द्रित गरिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् । सुरक्षा कारबाहीका क्रममा अहिलेसम्म सुरक्षाकर्मीतर्फ भने कुनै मानवीय क्षति नभएको प्रहरीकाे दाबी छ। घटनाप्रति केही उच्च सुरक्षा अधिकारीहरू नै दोषी रहेको भन्दै उनीहरूलाई बर्खास्त गरिएको छ । (रासस/एएफपी)