बेइजिङ - चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा सहभागी हुन आग्रह गरेका छन्।
उनले चीनको सो महत्त्वाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अरू नेताहरूलाई पनि आग्रह गरेको चिनियाँ राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।
बेइजिङमा जारी बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति जिनपिङले सो धारणा राखेका हुन्। उनले चीनको उक्त आयोजनामा थप देशहरूलाई आबद्ध हुन आग्रह पनि गरेको सो समाचारमा जनाइएको छ।
उक्त सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुखहरू उपस्थित भएका थिए। उनीहरू शनिबार पनि बेइजिङमा नै थिए। तीनदिने सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले भने– हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ।
सो सम्बोधनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायतको सहभाागिता थियो।
सो सम्मेलनमा राष्ट्रपति सीले चीन उक्त आयोजनामा बढीभन्दा बढी देशको सहभाागिता चाहेको र यसबाट विश्वका विभिन्न देश पनि लाभान्वित हुन भन्ने चाहेको धारणा राखे।
साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको उनले बताए। त्यसैले धेरैभन्दा धेरै देश एवं कम्पनीहरूको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरूको रहेको पनि उनले बताए।
तर पनि कतिपय विश्वका देशहरूले चीनको यो आयोजना महत्त्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेका बताइन्छ।
उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्ट्रपति र प्रधानमन्त्री छन् भने विश्वका १ सय ४० भन्दा बढी देशको सहभागिता रहेको छ। बीआरआईलाई चीनले केही वर्षयतादेखि ठूलो महत्त्व दिइआएको छ। चीनको राष्ट्रपतिमा सी निर्वाचित भएपछि देखि नै यस आयोजनालाई उनले अरू आयोजनाभन्दा बढी महत्त्व दिएर अघि सारेका थिए।
चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ। यसपटकको सम्मेलनमा पनि बेइजिङमा यस बीआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरू विश्वका देशहरूमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफल जरी रहेका छन्। (सिन्ह्वा)