काठमाडौँ – शनिबारदेखि काठमाडौँमा विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको पाँच दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। साझा सवालका लागि साझा मञ्च (कोकन)ले महर्षी अरविन्द फाउण्डेसन र इथिनिक साइन्स फाउण्डेशन (भारतीय गैरसकारी संस्था)सँगको सहकार्यमा सम्मेलन गर्न लागेको हो।
शुक्रबार आयोजकले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सम्मेलन विश्वव्यापी सद्भावका लागि शान्ति दुतहरुको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुने जानकारी दिएको छ।
साझा सवालका लागि साझा मञ्च (कोकन) का सल्लाहकार केशव कुमार घिमिरेले उक्त सम्मेलनको बारेमा प्रकाश पारेका थिए। घिमिरेले भने, ‘समाज परिवर्तनको लागि सबैभन्दा पहिले व्यक्तिमा सकारात्मक सोच आवश्यक छ। सकारात्मक सोच आध्यात्मिक साधनाबाट प्राप्त हुन्छ।’
उक्त सम्मेलनमा आध्यात्मिक सोचका लागि प्रयोगात्मक अभ्यास हुने र सँगसँगै कृषि, स्वास्थ्य र शिक्षासँग सम्बन्धित विषयहरु प्रकृति उन्मुख पद्धतिबाट सञ्चालन गर्न सकियो भने व्यक्ति र समाज दुवैलाई स्वस्थ राख्न सकिनेपनि घिमिरेले विश्वास दिलाए।
सम्मेलनमा नेपालका साथै भारत, श्रीलंका, संयुक्त राज्य अमेरिका र बेलायतका प्रतिनिधिहरुको सभागिता रहनेपनि आयोजकले जनाएको छ। सम्मेलनमा स्वदेश तथा विदेश गरि १ सय ५० जनाको उपस्थिति रहने छ। जसमा सय जना नेपालबाट र ५० जनाको अन्य देशबाट उपस्थिति रहनेछ।