चितवन - नारायणी नदी किनारमा गण्डकी, नारायणी महाआरती शुरु गरिएको छ। गण्डकी नारायणी संरक्षण महाआरती परिषद्ले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती शुरु गरेको हो।
नारायणगढबजार नजिकै नारायणी किनारमा महाआरती शुरु गरिएको हो। परिषद्का अध्यक्ष प्रेमनिधि भारद्वाजका अनुसार शुरुमा नारायणी नदी किनारमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गर्ने गरिन्छ।
त्यसलगत्तै नजिकै धार्मिक विधिअनुसार करिब ५० मिनेटसम्म आरती गरिने उनले बताए। सो क्रममा आरतीसँगै मन्त्र उच्चारण गरी कलाकारद्वारा सङ्गीतमय आरती भजनकीर्तन गर्ने गरिन्छ।
आरतीमा ३ जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्ने अध्यक्ष भारद्वाज बताउँछन्। आरतीले पितृमोक्षका साथै मनोकामना पूरा हुने शास्त्रीय विश्वास रहेको उनले बताउए।
उनका अनुसार आरतीका लागि मासिक करिब रु. १ लाख ८० हजार खर्च हुने अनुमान छ। हालसम्म खर्चको व्यवस्थापन परिषद्ले गर्दै आएको भए पनि यसलाई अखण्ड बनाउनका लागि दाताको भर पर्नुपर्ने देखिएको छ।
नेपालका पशुपति र जनकपुरको गङ्गासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ। भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुने गर्छ। नारायणीमा शुरु गरिएको आरतीलाई सामुदायिक बनाउन स्थानीय आमा समूह एवं सङ्घसंस्थालाई पत्राचारसमेत गरेको भारद्वाजले बताए। सनातन संस्कृतिको संरक्षणका साथै नदी संरक्षणका लागि महाआरती थालिएको उनको भनाइ छ।
महाआरतीको समयमा स्थानीय भक्तजन अवलोकनका लागि ठूलो सङ्ख्यामा सहभागी हुन थालेको परिषद्ले जनाएको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास छ। (रासस)