लम्की – कैलालीको घोडाघोडी–४ मा चरा हेर्न आउने पर्यटकले माघी घरबास (होमस्टे) चलेको छ घोडाघोडी नगरपालिकाको वडा नं ४ माघी गाउँमा रहेको माघी सामुदायिक वनमा चरा अवलोकन गर्न आउनेहरु नै माघी होमस्टेमा बास बस्ने गर्दछन्। त्यहाँ १५ घरमा होमस्टे सेवा सञ्चालन गरिएको छ।
होमस्टेसँगै जोडिएको माघी सामुदायिक वनमा ५० प्रजातिका चरा अवलोकन गर्न पाइन्छ। चरा संरक्षण तथा जैविक विविधताका लागि महत्वपूर्ण मानिएको माघी सामुदायिक वनमा हरिहाँस, सिलसिले हाँस, बगाले सिमकुखुरा, मरुल, खडखडे हाँस, बेल्चाबुंडे हाँस, चसेवाचसेवी, सानो जलेवा नामका चरा पाइन्छन्।
त्यहाँ कालो गरुण, सानो जलेवा, सुइरो पुच्छे, सनजुरे हाँस, लोभीपाडी गरुण, पुगीफोर गरुण, नादुन हाँस, फ्रुसो बकुल्ला, सिन्दुरे हाँस, हरियो टाउके हाँस, ध्यानी बकुल्ला, बिजुला गौरी, सिम कुखुरा, बस्तु बकुल्ला, सुइरो ठुडे, कर्रा सावरी, राज धनेश, काकाकुल, कुर्ले ढुकुर, पातसिउने फिस्टो, भद्राई चरा, श्वेत वक्ष जुरेली लगायतका चरा अवलोकन गर्न पाइन्छ।
त्यस्तै, तीन औंले लाहाँचे, लुइचे, मलहाचिल, झकैझकै झ्याप्सी, सेतो टिकटिके, जागले पिट्टा, सर्पहारी चिल, कर्रा सुगा, चिचिल्कोटे, चञ्चले अर्जुनक, कालो बगचरे, सुन्तले चाँचर, कालो धनेश, सानो माटिकोरे, सोतो कण्ठे माटिकोरे, गाजले सुनचरी, छिर्के कुथुर्के, राज लाहाचे, श्यामा लगायतका चरा पनि अवलोकन गर्न पाइने चराविद् दयाराम चौधरीले जानकारी दिए।
घोडाघोडी तालमा भने २ सय ९९ प्रजातिका चरा, २९ प्रजातिका माछाहरु, ३२ प्रजातिका पुतलीहरु, ३४ प्रजातिका स्तनधारी वन्यजन्तु, ११ प्रजातिका घोगी सिप्पीहरु, ७ प्रजातिका घिस्रिने वन्यजन्तुहरु र ४ सय ५० प्रजातिका वनस्पति पाइन्छन्।
कैलालीको धनगढीबाट चरा अवलोकनका लागि माघी सामुदायिक वन पुग्नुभएका भेषराज भट्टले होमस्टे पुगेपछि शान्त र शीतल वातावरणमा बस्न पाउनुका साथै चराचुरुङ्गीको चिरबिर आवाजले आनन्द लागेको बताए। ‘हामी त यसो होमस्टे हेरौं न भनी आएका थियौं। होम स्टेको पश्चिमतर्फ रहेको सामुदायिक वनभित्र छिरेपछि चराचुरुङ्गीसँगै रमाइराखौं जस्तो लाग्यो’, भट्ट भन्छन्, ‘यहाँ लगानी गर्न सकेको भए पर्यटक भित्रिने राम्रो सम्भावना छ। यहाँसम्म आउने बाटो, बिजुली लगायतका पूर्वाधार बनाउनुपर्छ।’
माघी होमस्टेमा वार्षिक दुई हजार जति पर्यटक आउँछन् जसमा २ सय जनासम्म विदेशी पर्यटक आउने गरेको सामुदायिक होमस्टेका व्यवस्थापक महेश चौधरीले बताए। व्यवस्थापक चौधरीले घोडाघोडी नगरपालिकामा घोडाघोडी ताल र माघी सामुदायिक वनमा विश्वकै दुर्लभ चरा पाइने र चरा अवलोकनका लागि आउनेहरुले होमस्टे चलेको बताए।
माघी होमस्टेबाट पूर्वतर्फ घोडाघोडी ताल छ भने पश्चिमतर्फ सामुदायिक वन छ। यहाँ आउने पर्यटक पैदल हिँडेरै चरा अवलोकन गर्ने गर्दछन्। व्यवस्थापक चौधरी भन्छन्, ‘चरा हेर्नका लागि सातवटा चरा अवलोकन स्थल बनाइएका छन्। दिनभरि चरा अवलोकन गर्ने र रात परेपछि माघी होमस्टेमा रमाउने गर्दछन्।’
माघी गाउँमा २०७१ सालदेखि होमस्टे सञ्चालन गरिएको हो। चरा तथा जैविक विविधताका लागि महत्वपूर्ण मानिएको सो क्षेत्रमा होमस्टे सञ्चालनका लागि कृषि विकास मन्त्रालय, स्थानीय सरकार, तारागाउँ विकास समितिले सहयोग गरेपछि भवन बनेका हुन्। त्यहाँ सामुदायिक माघी भवन पनि बनाइएको छ।
त्यहाँ आउने पर्यटकलाई सांस्कृतिक मनोरञ्जन दिइनाका साथै त्यहाँका थारु संस्कृति झल्कने पहिरन, खाना र संस्कृति देखाउने गरिन्छ। त्यहाँ बास बस्ने पाहुनालाई तीन थरिका सांस्कृतिक कार्यक्रम देखाउने गरिन्छ। थारु समुदायका नाच सखिया, झुम्रा र लठिया नाच देखाइन्छ।
माघी होमस्टे सञ्चालन समितिका अध्यक्ष शोभाराम चौधरीले भने, ‘नृत्य देखाउने तालीम प्राप्त कलाकार तयार गरिएका छन्। एउटा नृत्य देखाएवापत सामुदायिक होमस्टेले एक हजार रुपैयाँ शुल्क लगाएको छ। होमस्टेको दश प्रतिशत कमाइ सामुदायिक कोषमा जम्मा गर्ने गरिएको छ। त्यही कोषबाट व्यवस्थापनको काम गरिन्छ। वर्षमा करीव एक लाख सामुदायिक कोषमा रकम जम्मा हुन्छ।’
होमस्टेमा परम्परागत सजावटका १५ घर छन् जुन घर कृषि विकास मन्त्रालयले २५ लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको हो। एउटा घरमा चारजना पाहुना राख्न सक्ने क्षमता छ। ‘घोडाघोडीमा केही कार्यक्रम गर्नुपरे बजारमा नगरी माघी गाउँमा जाने चलन बढेको छ। त्यहाँ होटलको भन्दा सस्तो, विषादीरहित तरकारी, स्थानीय उत्पादनबाट बनेको खाना खुवाइन्छ,’ स्थानीय सुरेश सापकोटा भन्नन्, ‘माघी गाउँमा कुखुराको मासु, मुसाको चट्नी, घोंघीको तरकारी, सिन्की अर्थात् थारु परिकार खुवाउने चलन छ।’
यति राम्रो ठाउँ भए पनि त्यहाँ बत्ती भने पुगेको छैन। त्यहाँका सबै घरमा सौर्य उपकरण राखिएका छन्। पाँच वर्षअघि बिजुली विस्तारका लागि खम्बा गाडिएको भए पनि अहिलेसम्म बत्ती पुग्न सकेको छैन। महेन्द्र राजमार्गबाट चार किलोमिटर मात्र दूरीमा रहेको सो होमस्टेमा बिजुली छैन तर, पनि पर्यटक आउँछन्।
घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी नगरपालिकाले घोडाघोडी ताल र माघी होमस्टेलाई पर्यटकीय विकासको पाटोका रुपमा अघि बढाउने योजना बनाएको बताउछन्। ‘नगरपालिकाले सांस्कृतिक प्रवद्र्धन, विकासमा सहयोग गर्ने भएको छ। स्थानीय बासिन्दाले होमस्टेका लागि घर थप गर्न चाहे हामी सहयोग गर्छौं भनेका छौँ।’ (रासस)