काठमाडौँ - नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २०औं स्मृति दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी सम्झना गरिँदैछ।
इमान र निष्ठाका अगुवा नेता अधिकारीकाे २०५६ सालमा संसदीय निर्वाचनको क्रममा वैशाख १३ गते निधन भएको थियो। आफ्नो ९ महिने शासनकालमा अधिकारीलाई ‘आफ्नो गाउँ आफै बनाऔं, ‘वृद्धभत्ता’ जस्ता लोकप्रिय र जनप्रिय काम गरेको भनेर लिइ्न्छ।
२०४६ सालको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका अधिकारी त्यसबेला नेकपा (मार्क्सवादी)को अध्यक्ष थिए। बहुदलीय व्यवस्थाको आगमनसँगै नेकपा (माले) र माक्र्सवादीबी एकता भयो। अधिकारी एकतापछि बनेको नेकपा (एमाले) को अध्यक्ष बनेका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट नेता अधिकारी प्रधानमन्त्री बनेका थिए। उनको नेतृत्वमा सरकार बनेको ९ महिनापछि अन्य पार्टीले समर्थन नदिएका कारण ढल्यो । नेपालको इतिहासमा ९ महिने सरकारको रूपमा चिनिन्छ।
जीवनशैली र योगदान
राजधानीको लाजिम्पाटमा जन्मनुभएका मनमोहन अधिकारी भारत बसाईका क्रममा कम्युनिस्ट आन्दोलनमा जोडिएका थिए। १९३८ मा वाराणसी अध्ययन गर्नको लागि पठाइएका अधिकारीले भारत छोडो आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे। भारत छोडो आन्दोलनमा सक्रियताका कारण ब्रिटिश सरकारले गिरफ्तार गरेर जेल पठाएपछि अधिकारीको अध्ययन बिचैमा रोकिन पुगेको थियो।
भारतमा रहँदा भारतीय कम्युनिस्ट पार्टीमा सामेल भएका अधिकारी नेपाल फर्केपछि विराटनगरको एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने। १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्येका एक मनमोहन बंगलादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि पक्राऊ परेका परेका थिए।
सादगी जीवनशैलीका पर्याय मनमोहन कम्युनिष्ट नेता मात्रै थिएनन्, एक प्रजातान्त्रिक योद्धा थिए। विश्वको इतिहासमा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री भए पनि मनमोहनको जीवनशैली आम मानिसभन्दा पृथक थिएन।
नेपालको इतिहासमा सबैले सधैं सम्झिने गरेको २०५१ को ९ महिने सरकारका दीर्घकालीन परिणामले नेपाली जनमा मनमोहनप्रतिको श्रद्दा कहिल्यै नमेटिने गरी गढेको छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य समेत रहेका अधिकारीको भूमिका २०४६ को जनआन्दोलनमा पनि अनुकरणीय रहेको छ।