काठमाडौँ– निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोससँग जापानको अदालतले ४.५ मिलियन डलर धरौटी माग गरेको छ। टोक्योको अदालतद्वारा जारी विज्ञप्ति अनुसार उनीसँग ५ सय मिलियन जापानी ऐन (४.५ मिलियन डलर) धरौटी माग गरिएको हाे।
उनी भ्रष्टाचार आरोपमा पक्राउ पर्दै र छुट्दै आएका छन्। कम्पनीको कम आम्दानी देखाएर भ्रष्टाचार गरेको आरोपमा पहिलो पटक पक्राउ परेका थिए। १९ नोभेम्बर सन् २०१८ मा पक्राउ परेका उनी १ सय ८ दिन जेल बसेपछि ६ मार्च २०१९ मा सशर्त धरौटीमा रिहा भएका थिए। त्यसको २८ दिनपछि फेरि उनलाई फेरि विश्वासघातको आरोपमा घरबाटै पक्राउ गरिएको थियो।
कार्लोसले भने आफूमाथि लगाएका सबै आरोपहरुको खण्डन गर्दै आएका छन्। कार्लोस घोस फ्रान्सको अटो कम्पनी रेनोको पनि अध्यक्ष र कार्यकारी प्रमुख अधिकृत (सीईओ) थिए। कार्लोस जापानका टप सीईओहरुमध्ये एक हुन्।
सन् १९९९ मा रेनोले निसानको शेयर खरिद गरेको थियो। त्यसपछि कार्लोस निसानसँग जोडिए र सन् २००१ मा सीईओ बन्न सफल भए। निसान कम्पनी धरासायी हुनबाट जोगाएको श्रेय कार्लोसलाई नै जान्छ।