रोल्पा – मगर समुदायले भाषा संस्कृति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गरिरहेका बेला रोल्पामा स्थापना गरिएको मगर सङ्ग्राहलय भने बन्द हुने अवस्थामा पुगेको छ। सङ्ग्राहलय सञ्चालनका लागि बजेटको अभाव भएसँगै उक्त सङ्ग्राहलय बन्द हुने अवस्थामा पुगेको हो।
रोल्पा सदरमुकाम लिवाङमा रहेको उक्त सङ्ग्राहलय एक कोठामा सीमित हुनपुगेको छ। प्रचारप्रसारको अभावमा सङ्ग्राहलयबारे धेरैलाई जानकारी छैन। मगर बाहुल्यता रहेको जिल्ला भए पनि यसको विकास र संरक्षणमा कसैको ध्यान नपुग्दा सङ्ग्राहलय यस्तो अवस्थामा पुगेको मगर अगुवाको भनाइ छ।
सङ्ग्राहलय रहेको घर भाडा तिर्न नसक्दा बन्द गर्ने अवस्थामा पुगेको नेपाल मगर सङ्घ रोल्पाका सचिव जोखबहादुर पुनले बताए। रोल्पा नगरपालिकाले अघिल्लो वर्ष घर भाडाका लागि केही बजेट सहयोग गरेको थियो। जिल्लाका सबै स्थानीय सरकारको समन्वयमा जिल्लाको मगर भाषा संस्कृतिलाई जीवन्त राख्ने स्थानको रुपमा सङ्ग्राहलयको स्तरवृद्धि गर्ने सोच बनाएको उनले बताए।
जिल्लामा कूल जनसङ्ख्याको ४६ प्रतिशत सङ्ख्या मगर समुदायको भए पनि उनीहरुको भाषा संस्कृति भने लोप हँुदै जान थालेको छ। जिल्लाको सघन मगर बस्ती रहेका पूर्वीउत्तरी भूभाग फगाम, जेल्वाङ, गाम, सिउरी, सेरम, उवा, थवाङ, मिरुल, जङ्कोटलगायतका स्थानमा बस्ने मगरले मात्रै मगर भाषा बोल्ने गर्दछन्।
अधिकांश मगर आफ्नो भाषा बोल्ने गर्दैनन् भने मगर संस्कृतिसमेत बिर्सदै जान थालेका छन्। भाषाको संरक्षण र थप विकासका लागि भाषा प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको नेपाल मगर सङ्घ रोल्पाले जानकारी दिएको छ।
विद्यालयस्तरदेखि मगर भाषाको विकास गर्ने भन्दै परिवर्तन गाउँपालिकाको दुई विद्यालयलमा मगर भाषामा पठनपाठन हुँदै आएको बताइएको छ। नेपाल मगर सङ्घ रोल्पाले पश्चिम उच्च पहाडी गरीबी निवारण आयोजनाको सहयोगमा विसं २०७१ मा स्थापना गरिएको उक्त सङ्ग्राहलयमा मगर समुदायले प्रयोग गर्ने सामग्री राखिएको छ।
मगर समुदायले लगाउने कपडा, प्रयोग गर्ने भाडावर्तन, मनोरञ्जनका सामग्री आदि राखेको नेपाल मगर सङ्घ रोल्पाले जनाएको छ। (रासस)