काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार अपरान्ह राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी छिन्। राष्ट्रपतिसँग सरकारी टोलीका ३४ र निजीतर्फ ९ सदस्य बेइजिङ गएका छन्।
काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुगेर नेपाल वायुसेवाको चार्टर्ड विमान शुक्रबार काठमाडौं फिर्नेछ। ल्हासासम्म वाइडबडी विमान नजाने भएकाले राष्ट्रपतिसहितको टोली बेइजिङबाट ल्हासातर्फ चिनियाँ सानो विमानबाटै जानेछ।
राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु सुशीलराज प्याकुरेल तथा लालबाबु यादव बेइजिङ गएका छन्।
तस्वीरहरुः मुकुन्द कालिकोटे
यसैगरी, सांसदहरु ज्ञानेन्द्रबहादुर कार्की, योगेश भट्टराई, रामेश्वरराय यादव, कमलकुमारी ओली, प्रेमप्रसाद तुलाचन, विमला विश्वकर्मा र गजेन्द्रबहादुर महत भ्रमण टोलीमा छन्। परराष्ट्र सचिव शंकरदास बैरागी दाहाल, उद्योग वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, राष्ट्रपति कार्यालय सचिव विनोद केसी, निजी चिकित्सक डा. धर्मकान्त बास्कोटा, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी पनि राष्ट्रपतिको भ्रमणमा सामेल रहेका छन्।