काठमाडौँ– ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले यही वैशाख २७ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। संस्थाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हाे।
चैत २८ गतेसम्म कायम शेयरधनीहरुका लागि जेठ ३० गतेसम्म हकप्रद निष्काशन हुनेछ। संस्थाको हालको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ। ३२ लाख ७५ हजार कित्ता हकप्रद निष्कासन गरेसँगै संस्थाको चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ। हकप्रद निष्कासन तथा विक्रि प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ।
हकप्रदमा एनआईबीएल एस क्यापिटल केन्द्रीय लाजिम्पाट तथा यसका शाखा कार्यालयहरू लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल, विराटनगर तथा ग्रामीण विकास लघुवित्तको शाखा कार्यालयहरू विराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज र धनगढी शाखाबाट हकप्रदमा आवेदन दिन सक्नेछन्। यसैगरी मेरो शेयरबाट समेत हकप्रद भर्न सकिन्छ।
हकप्रद शेयर आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक कम्पनीले ११ करोड ३४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ६४ पैसा कायम गरेको छ। लघुवित्त कम्पनीको चैत ९ गते प्रतिकित्ता शेयरमूल्य ३ सय ४६ रुपैयाँ रहेको थियो।