काठमाडौँ - शिवम् सिमेन्ट्सले साधारण शेयरधनीमा शेयर निष्कासन गरेको करिब २ महिनाभित्रमै नगद लाभांश बाँडफाँट गर्ने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरूले समेत पाउने गरी १५ प्रतिशतका दरले रू. ६९ करोड ४७ लाख हजार नगद लाभांश रकम बाँडफाँड गर्ने भएको हो । कम्पनीको हालै बसेको तेस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
त्यसैगरी, उक्त सभाले कम्पनीले समान उद्देश्य भएका अन्य कम्पनी वा संस्थालाई प्राप्ति गर्ने, उत्पादन क्षमता अभिवृद्धि गर्ने, उत्पादन विविधिकरण गर्ने र उपयुक्त अन्य कम्पनीको शेयरहरू खरिद गरी थप उद्योग स्थापना गर्नेलगायतका प्रस्तावहरू पारित गरी आवश्यक कार्यहरू अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत दिएको छ ।
साथै, सभाले सर्वसाधारण शेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्दै अलका गोयललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको कम्पनीले जानकारी दिएको छ।