काठमाडौँ - नेपाली कांग्रेसकी सांसद कल्पना नेपालीले संसदलाई छलेर प्रदेश ३ सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको आरोप लगाएकी छन्। राजधानी र नामाकरणका विषयमा सत्तारुढ दलभित्रको विवादका कारण प्रदेश नम्बर ३ को तेस्रो (हिउँदे) अधिवेशन अन्त्य गरिएको सांसद नेपालीको आरोप छ।
उनले भनिन्, ‘प्रदेशको राजधानी र नामाकरण टुङ्गो नलगाई सोमबार अधिवेशन अन्त्य गरिएको छ, यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशनमै प्रदेशको राजधानी टुङ्गो लगाउने प्रतिवद्धता जनाउनु भएको थियो। उक्त प्रतिवद्धता विपरित अधिवेशन अन्त्य गरिएको छ। यो सरासर गलत छ। सत्तारुढ दलले आफ्नो आन्तरिक विवादलाई दिएर प्रदेश ३ लाई गुमराहमा राख्न मिल्छ?’
उनले भनिन, ‘अस्थायी राजधानी रहेको हेटौडालाई स्थायी राजधानी बनाउने या अरु कुनै स्थानमा राजधानी राख्ने भन्नेमा सत्तारुढ खलका नेताहरुबीचमै विवाद छ। आन्तरिक विवादका कारण सहमतिलाई लत्याएर सभामुख, सांसद र सार्वभौम संसदलाई झुक्याएर अधिवेशन अन्त्य गरिएको छ।’
यसअघि ‘अर्को सूचना जारी नभएसम्मका लागि स्थगित’ भएको अधिवेशन सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अचानक २०७५ बैशाख १० गतेबाट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख अनुराधा कोइरालालाई सिफारिस गरेको थियो।