सुरुङ्गा - प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव माओवादीका ४ कार्यकर्तालाई झापा र गोरखाबाट प्रहरीले पक्राउ गरेको छ।झापा जिल्ला इञ्चार्ज सौगात कटुवाल र सदस्य अर्जुन चौहानलाई बिर्तामोड नगरपालिका–१ आँखा अस्पताल नजिकैबाट सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जानकारी दिए।
योसँगै झापामा विप्लव समूहका ६ नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। यसअघि इलाम जिल्ला सेक्रेटरी दीपेन राई र होम खतिवडालाई समेत प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको थियो ।
त्यसैगरी गोरखा जिल्लाका जनपरिषद् प्रमुख विष्णु रिजाल र विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ईश्वर पाण्डेलाई प्रहरीले गाेरखाबाट पक्राउ गरेको छ।
प्रहरीले जनपरिषद् प्रमुख रिजाललाई सोमबार जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका रिजाललाई राजद्रोहअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए।
त्यस्तै पक्राउ परेका विद्यार्थी नेता पाण्डेलाई धादिङको एनसेल टावरमा क्षति पुर्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि पठाइएको रावलले बताए। पाण्डेलाई आइतबार जिल्लाको भीमसेन थापा गाउँपालिका–६ अश्राङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।