काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी एक वर्षभित्र पार्टीको महाधिवेशन गर्ने घोषणा गरेको छ। सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र जिल्ला सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र पार्टीको केन्द्रीय महाधिवेशन गर्ने घोषणा गरेको हो।
पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन। गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो। तर पार्टी ११ महिनासम्म आन्तरिक किचलो र झगडामा रुमलिएको थियो।
नेकपाले ७०औँ स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा केन्द्रीय सचिवालयले पारित गरेको ७७ जिल्ला अध्यक्ष र सचिवहरूको सूची नै सार्वजनिक गरेको हो ।
जस मध्ये भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो ।
पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन् । यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन् । दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ । चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन् । यसअघि प्रदेश पदाधिकारी चयनमा भने नेपाल पक्षको सहभागिता कमजोर थियो ।
पूर्वमाओवादीतर्फ ३३ अध्यक्ष र ४४ सचिवमा अध्यक्ष प्रचण्ड पक्षधर क्रमशः २७ र ३५, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ निकट पाँच र नौ जना छन् । यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठनिकट अध्यक्ष एकजना परे पनि सचिवमा कोही समेटिएका छैनन् ।