काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो बजेटमार्फत वृद्ध भत्ता बढ्ने बताएका छन्। पार्टी स्थापना दिवसको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आउँदो बजेटमा वृद्धभत्ता बढ्ने बताए।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘काम गरेन भन्नेहरुलाई काम गरेरै जवाफ दिने हो। अघिल्लो वर्ष आर्थिक समस्याका कारण चाहेर पनि भत्ता बढाउन सकिएन। तर यो वर्ष अवश्य वृद्धि हुन्छ।’ ‘गत वर्षको बजेटमा हामीले जेष्ठ नागरिक भत्ताको व्यवस्था गरेका थिएनौ। अत्यन्तै नाजुक अवस्थामा देशको अर्थतन्त्र पुर्याइएको थियो। त्यस ठाउँबाट अर्थतन्त्रलाई ठिक बाटोमा ल्याइएको छ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्रगतिशील र वामपन्थीसँग मिलेर अघि बढ्नुको साटो प्रतिक्रियावादीहरुसँग घाँटी जोडेको आरोप लगाए। उनले भने, ‘कांग्रेसले प्रगतिशील शक्तिविरुद्ध प्रतिक्रियावादी शक्तिसँग घाटी जोड्ने गलत नीति लिएको छ। म चाहन्छु अब कांग्रेसले अहिलेसमको अवस्थाबाट पाठ सिक्नुपर्छ। यदि कांग्रेस लोकतान्त्रिक शक्ति हो भने लोकतान्त्रिक शक्तिसँग नै एकता गर्नुपर्छ।’