काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतामा देश नै खुशी हुनु पर्ने बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी स्थापनाको ७०औँ बार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको सुदृढ बहुमत सहितको सरकार बनेको दुईवटा ठूला वाम पार्टी एक भएको सन्दर्भमा देशले नै खुशी मनाउनु पर्ने बताए। ‘हाम्रो एकतामा कम्युनिष्ट पार्टीले मात्र होइन देशले नै खुशी मनाउनु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने यो स्थिरताको सुरुवात हो। देश अघि बढाउने कार्ययोजनाको एकता हो।’
प्रधानमन्त्री ओलीले कुनै बेला कम्युनिष्टहरुको अन्तराष्ट्रिय गीत ‘हामी जित्नेछौं एक दिन’ खुब गाउने गरेको प्रसंग निकाल्दै आज कम्युनिष्टहरुले जितेको दिन भएको बताए। ‘त्यतिबेला हामी जित्नेछौँ, एकदिन भन्ने गीत गाउथ्यौँ तर आज हामीले जितेका छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘लामो समयसम्म स्वार्थको राजनीति भएर कम्यूनिष्टहरुले जित्न सकेनन्। जब आफ्नो स्वार्थ गौँण र देशको स्वार्थलाई प्रधान मान्ने नेतृत्व आयो तब कम्युनिष्टले जित्यो।’
प्रधानमन्त्री ओलीले काँग्रेसका केही नेता अझै पनि राजतन्त्र ब्यूताउँने सपना देखिरहेको आरोप लगाए। ‘बिगतमा कांग्रेसका कारण प्राप्त उपलब्धीहरु जोगाउन सकिएन। उसको बानी सहयात्रीहरुलाई अविस्वास गर्ने र बिरोधीहरुसँग मिल्ने छ। अहिले पनि त्यो बानी गएको छैन।’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले सरकारले देश विकासका निम्ती राम्रा काम गरिरहेको दावी गरे। ‘गान्धारीले आँखामा पट्टी बाधेकी थिइन् र केही देख्दिन थिइन्,’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेका केही केही मानिसले चेतनामा पट्टी बाँधेकाले सरकारको काम देखेका छैनन्।’
अब केही दिनमा आउने सरकारको नीति तथा कार्यक्रममा गतबर्ष जनताले अत्याधिक माग गरेका तर समेट्न नसकिएका मागहरु सम्बोधन गरिने प्रधानमन्त्री ओलीले बताए।
कार्यक्रममा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पत्रकार शुभशंकर कंडेलले लेखेको पुस्तक अवतरणको अंग्रजी संस्करण दि सेफ ल्याण्डिङ र एमाले माओवादी एकताका आधारको विमोचन पनि गरे।