किभ - युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन्। उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन्।
राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३ दशमलव २ प्रतिशत मत प्राप्त गरेका थिए। निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन्। यद्यपि, करिब १५ प्रतिशत मतगणना हुन बाँकी छ।
चुनावमा राष्ट्रपति पोरोशेन्को र हास्य कलाकार जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणमा देखिएको थियो। यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पोरोशेन्कोविरुद्ध जेलेन्स्की र पूर्वप्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिएका थिए।
कलाकार जेलेन्स्कीले राष्ट्रपति पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गरेका थिए तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गरेका थिएनन्। युक्रेनी चुनाव आयोगका अनुसार पहिलो चरणमा जेलेन्स्कीले ३० दशमलव २ प्रतिशत र पोरोशेन्कोले १६ दशमलव ७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए भने पूर्वप्रधानमन्त्री युलियाले १३ दशमलव ०८ प्रतिशत मत प्राप्त गरेका थिए।
करिब ४ करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए। पछिल्ला वर्षहरूमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ।
युक्रेनको संविधानअनुसार पहिलो चरणको चुनावमा कुनै उम्मेदवारले पूर्णबहुमत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको चुनाव हुन्छ। चुनावी मतपरिणामबाट विजयी हुने सुनिश्चित भएसँगै जेलेन्स्कीले आफ्ना समर्थकलाई राजधानी किभमा सम्बोधन गर्दै आफूले युक्रेनी जनताको भावनामा कहिल्यै कुठाराघात नगर्ने बताएका थिए।
जेलेन्स्कीको विजयप्रति युरोपेली युनियन, नेटो, फ्रान्स, अमेरिकासमेतका संस्था एवं सरकारबाट खुसी व्यक्त गर्दै युक्रेनको स्थायित्व र विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। चुनावपछिको मत सर्वेक्षणमा युद्धरत एवं अशान्त पूर्वी क्षेत्रबाट भारी मत प्राप्त गरेका जेलेन्स्कीले राष्ट्रपति पोरोशेन्कोको पकड क्षेत्रबाट पनि बढी मत प्राप्त गर्ने देखाइएको थियो।
पराजित राष्ट्रपति पोरोशेन्कोले आफ्नो हार भएको स्वीकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन्। उनले पछिल्लो नतिजाबाट रुस खुसी भएको हुनसक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिए।
विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन्। मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको देखिएको जनाएको छ। (एएफपी)