काठमाडौँ – नेपाली कांग्रेसका महिला नेताहरुले पार्टीले घोषणा गरेको जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन आग्रह गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
आइतबार महासमिति सदस्य नीमा गिरीको नेतृत्वमा पार्टी सभापति देउवालाई ज्ञापनपत्र बुझाउँदै जागरण अभियानमा सिमित वक्तालाई मात्र स्थान दिएर कार्यक्रम बनाइनुले महिलाको प्रतिनिधित्वलाई खुम्च्याइएको महिला नेताहरुको भनाई छ।
ज्ञापनपत्रमा भनिएको छ, ‘नेपाली काँग्रेस जस्तो पार्टीले सार्वजनिक कार्यक्रम गर्दा नेपालको संविधान र आफ्नो विधानले गरेको मार्गदर्शनलाई पनि नजर अन्दाज गर्न मिल्दैन।
कार्यक्रममा सभापति र प्रमुख अतिथि, विशेष वक्ता मात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात शून्य प्राय हुने अबस्था रहन्छ।’
ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरी कार्यक्रमको प्रारुप संसोधन गर्नुपर्छ।’
ज्ञापनपत्र
आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेस,केन्द्रीय कार्यसमिति।
विषय - ध्यानाकर्षण
आदरणीय सभापतिज्यू,
नेपाली कांग्रेसले वैशाख ११ गते लोकतन्त्र दिवस पारेर ‘हिमाल, पहाड, तराई-मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ प्रारम्भ गर्दैछ। नेपाली कांग्रेसको विधान, नीति, कार्यक्रमवारे सुसुचित गर्न, पार्टीमा नवीन संचार जागृत गर्न र वर्तमान सरकारका जनविरोधी क्रियाकलापको बारेमा जनतामा जानकारी गराउन र जनतासँग कांग्रेसलाई जोड्न यस्तो अभियान अपरिहार्य नै थियो।
नेपाली कांग्रेसमा आवद्ध सदस्यहरू तथा सुभचिन्तकमा यसले केही उत्साहको संचार पक्कै गरेको छ। तर अभियान संचालनको प्रकृया र स्वरुपका सन्दर्भमा उल्लेखित केही विषयहरूमा भने हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
अभियानको स्वरुप, संचालन प्रकृया र शैली सबै ठाँउमा एउटै बनाउन र झण्झटिलो र कार्यक्रमको भद्दापनको न्युनिकरण गर्न पार्टीले छिटो छरितो कार्यक्रम गर्ने अबधारणा आफैमा राम्रो हो। यद्यपी नेपाली कांग्रेस जस्तो पार्टीले कार्यक्रमहरू गर्दा नेपालको संविधान र आफ्नै विधानले गरेको मार्गदर्शनलाई पनि नजर अन्दाज गर्न मिल्दैन।
कार्यक्रममा सभापति र प्रमुख अतिथि विशेष वक्ता मात्रै रहने र स्वागत र विषय प्रवेश मात्र हुने प्रारुप बनाउँदै गर्दा परिणाममा यो जागरण अभियानमा महिला समुदायको प्रतिनिधित्व अत्यन्तै न्युन अर्थात सुन्य प्राय हुने अबस्था रहन्छ।
किनकी संख्यात्मक रुपमा नत सभापतिमा महिलाको वलियो उपस्थिति छ, नत पार्टीले खटाएको प्रतिनिधिहरूमा। यसले समाजमा सिंगो पार्टी महिला सशक्तिकरणमा संवेदनशील नरहेको सन्देश प्रवाहित गर्नेछ। यो संविधान र केहि समय अगाडी महासमितिवाट पारित नेपाली कांग्रेसको विधानको मर्म विपरित त हो नै सिंगो महिला समुदायमाथिको अन्याय पनि हो भन्ने हाम्रो ठम्याई छ।
अतः जागरण अभियानका प्रत्येक कार्यक्रमहरूमा अनिवार्य रुपमा महिलाको नेतृत्वदायी भूमिका रहने गरि कार्यक्रमको प्रारुप संसोधन गर्न र सोहि अनुरुप पार्टीको सम्पूर्ण तहमा परिपत्र गर्न आदरणीय सभापतिज्यू समक्ष यो ध्यानाकर्षण गराएका छौं। जय नेपाल !
पार्टी सभापतिलाई महिला सहभागिता बढाउन माग गर्दै ज्ञापनपत्र बुझाउने १३ जिल्लाका महिला नेताहरु नीमा गिरी, मैना रावल, सिता वली, मनिसा, जानुका पन्त, प्रतिभा भुसाल, सिर्जना अधिकारी, शिखा घिमिरे, पूजा शर्मा, ममता चौधरी, शुसिला कुँवर, जानुका झा र शर्मिला चौधरी छन्।