काठमाडौँ - एकता महाधिवेशनको प्रक्रिया र मिति तय गर्न आइतबार बसेको राष्ट्रिय जनता पार्टीको पदाधिकारी बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ।
पार्टीको बैठक बसेलगत्तै महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको खबर आएपछि शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको महासचिव केशव झाले जानकारी दिए।
बैठकमा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले मौखिक रूपमा तीनवटा प्रस्ताव पेस गरेका छन्। भण्डारीले महाधिवेशनको प्रक्रिया र तिथिमिति निर्धारण, समसामयिक राजनीतिक परिस्थिति र राजपाको भावी कार्यदिशा तथा प्रदेश सरकार र स्थानीय तहको कामको प्रभावकारिताबारे प्रस्ताव पेस गरेका थिए।
आज सोमबार दिउँसो एक बजे बस्ने बैठकमा तीनवटै प्रस्ताव लिखित पेस गर्ने कार्यतालिका छ। मंगलबारसम्म बस्ने बैठकले महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले जानकारी दिए। राजपामा १३५ जना पदाधिकारी छन्।