काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कयौं निर्दोषहरुको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षीमार्फत उनी स्वयम् र श्रीलंकाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। कुराकानीका क्रममा ओलीले बिस्फोटमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
संवादका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘श्रीलंकाका विभिन्न स्थानहरुमा भएको श्रृंखलाबद्ध बम आक्रमणमा परी कयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ।’
प्रधानमन्त्री ओलीले नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडान अनुसार मानवता विरोधी घटनाको भत्सर्ना गरेको बताए।
ओलीले श्रीलंकामा भएको यस दुःखद् घडीमा श्रीलंकाली जनताको साथमा नेपाली जनता भएको बताएका छन्।