काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ११ महिनादेखि अल्झिएको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ। नेकपाको स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकतालाई टुंगोमा पुर्याउन शीर्ष नेताकाे बैठक बालुवाटारमा जारी छ।
नेकपाका दर्जनौं भ्रातृ संगठनहरु मध्येको शक्तिशाली संगठन हो अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनकाे एकीकृत अध्यक्ष को बन्छ ? भन्ने विषय चासोका साथ हेरिदै आएको थियो।
एमाले र माओवादी बीचको एकता घोषणापछि बन्ने संयुक्त अखिलको अध्यक्ष को होला? को को विद्यार्थी नेताले अखिलको नेतृत्व पाउलान् ? जस्ता प्रश्न उठिरहेका थिए। अब ति प्रश्नले जवाफ पाउने भएको छ।
अध्यक्षमा ऐन महरको चर्चा
एकीकृत अखिल अध्यक्षको जिम्मेवारी पाए नेतृत्व गर्न तयार रहेको अनेरास्ववियुका महासचिव ऐन महरले बताएका छन्। यस सन्दर्भमा महरले भने, ‘एमाले र माओवादीबीच पार्टी एकता घोषणा भएपछि संयुक्त अखिलको अध्यक्ष बनेर काम गर्ने मनसाय प्रकट गरेको थिएँ। मेरो बारेमा पार्टीमा छलफल चाँहि भएको हो, खासमा अहिलेसम्म म नै अध्यक्ष हुन्छु भन्ने आधिकारीक जानकारी पाएको छैन।’
उनले पार्टीले जिम्मेवारी दिएको खण्डमा मन, वचन र कर्मले सकेसम्म अखिललाई प्रभावकारी बनाउने दृढता व्यक्त गरे । एकता महाधिवेशन गर्ने, शैक्षिक मुद्दाहरुलाई सशक्त रुपमा उठाउने, शैक्षिक समस्याहरुलाई समाधान गर्ने कुराहरुमा आफ्नो ध्यान रहने उनकाे भनाइ छ।