सोलुखुम्बु - सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको १ हजार किलो फोहोर काठमाडाैँ लगिएको छ।
नेपाली सेनाको हेलिकाेप्टरमार्फत १ हजार किलो फोहोर काठमाडौँ र १ हजार किलो फोहोर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेले जनाएको छ। विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहोरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो।
स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमै व्यवस्थापन गरिएको छ। कुहिने वस्तुसहितको फोहोरलाई ओखलढुङ्गा र नकुहिने क्यान, सिसाको बोटलजस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडाैँ पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए।
१२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा खुम्बु क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा सङ्कलन भएको फोहोर पठाइएको प्रमुख भट्टराईको भनाइ छ।
उनका अनुसार वैशाख १ गतेबाट शुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको थियो। (रासस)