काठमाडौँ - नेपाल कम्युस्टि पार्टीका महासचिव विप्लवले यदि सरकारले आफ्नो पार्टी र जनवर्गीय संगठनमाथि लगाएको प्रतिबन्ध नहटाए प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्।
महासचिव विप्लवले एक विज्ञप्ती जारी गर्दै आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी नरोके सरकारको कारबाहीविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन्।
बैशाख ७ गते निकालिएको वक्तव्यमा भनिएको छ, ‘सामाजिक फासिवादी केपी-प्रचण्डको सरकारले हाम्रो पार्टी र जनवर्गीय संगठनमाथि उसैले भन्दै आएको उत्कृष्ठ संविधानको बर्खिलाप गएर प्रतिबन्ध लगाएदेखि नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर चरम याताना दिइराखेको छ।
यसै सिलसिला फासिवादी सरकारले बैशाख ६ गतेका दिन केन्द्रीय सदस्यहरु चुडामणि ओली आदर्श, चन्द्रबहादुर खड्का असल र विश्वलाई पुनः गिरफ्तार गरेको छ।
सरकारको यस्तो रवैयाको हाम्रो पार्टीले घोर विरोध गर्नुका साथै तुरुन्त रिहाई गर्न माग गर्दछौं। यदि केपी सरकारले हाम्रो पार्टीमाथिको दमनलाई रोकेन, प्रतिबन्ध हटाएन, गिरफ्तारी रोकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुनेछौं।
हामी अहिले पनि भन्दैछौं, हामीलाई बाध्य नपारियोस्। जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार नै हुनेछ।
स्मरण रहोस् केपी सरकारले गत फागुन २८ गतेदेखि विप्लव नेतृत्वको नेकपाको गतविधिमाथि प्रतिबन्ध लगाएको छ । त्यसपछि ठूलो संख्यामा नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ।
यसरी गिरफ्तार हुनेमा स्थायी समिति सदस्य सुदर्शन, पोलिट ब्युरो सदस्य मोहन कार्की, केन्द्रीय सदस्यहरु बसन्त श्रेष्ठ, चुडामणि ओली, चन्द्रबहादुर खड्का, बन्धु चन्द रहेका छन्।
त्यसैगरी सयौंको संख्यामा ब्युरो सदस्य, जिल्ला सदस्यहरु गिरफ्तार भएका छन्। सरकारले घोषणा गरेको प्रतिबन्धको राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा व्यापक विरोध भैराखेको छ।’
विज्ञप्ती