बेरुत - इस्लामिक स्टेट (आईएस)सँग आबद्ध लडाकुहरूले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकुको हत्या गरेका छन्।
सिरियामा आईएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित तुल्याएको सिरिया द्वन्द्वको अनुगमन गरिरहेको संस्थाले जनाएको छ।
बेलायतस्थित सिरियाली मानव अधिकारसम्बन्धी अब्जरभेटरीले विगत ४८ घण्टाभित्रै होम्स प्रान्तको पूर्वी मरुभूमिमा ४ जना सिरियाली सैनिकसहित सरकार समर्थित २७ जना लडाकुको हत्या भएको जनाएको छ।
सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आईएस लडाकुले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाइएको छ ।
अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले आईएसका अखडाहरू ध्वस्त भएको घोषणा गरिएपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको बताएका छन्।
अब्जरभेटरीका अनुसार भिडन्तमा आईएसका ६ लडाकुको समेत मृत्यु भएको छ।
विशाल सिरियाली मरुभूमि राजधानी दमास्कसदेखि होम्स र हामा सहर हुँदै इराकी सीमानजिकको युफ्रेटस उपत्यकासम्म फैलिएको छ। यो क्षेत्रमा पछिल्लो समय आईएसले आश्रयस्थल बनाएको छ। (एएफपी)