काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पानीको मूल संरक्षण अभियान शुरु गरेका छन्। पानीको मूल तथा पोखरी संरक्षण अभियान थालनी गर्दै यसलाई देशव्यापी अभियान नै बनाइने घोषणा पौडेलले गरेका हुन्।
स्वच्छ खानेपानी आम मानिसको आधारभूत आवश्यकता रहेकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व रहेको उल्लेख गर्दै पौडेलले अभियान घोषणा गरेका हुन्।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थितिमा पौडेलले आफ्नो जन्मथलो तनहुँ ढोरफिर्दीस्थित ठूलो पधेँरोको पानी पिउँदै अभियानको थालनी गरे।
पौडेलकै नेतृत्वमा ठूलो पधेँरो आसपासको क्षेत्रमा विभिन्न १ सय २३ प्रजातिका बोट बिरुवा पनि रोपिएका छन्। आम मानिसलाई ठूला–ठूला सपना देखाएर रनभुल्लमा पार्नुभन्दा आफ्नो वरपरको क्षेत्रमा सजिलै गर्न सकिने रंचनात्मक विकासका कार्यमा प्रोत्साहित गर्न आफूले यस्तो अभियान शुरु गरेको पौडेल बताउँछन्।
उनले यस अभियानलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन्। नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रहेका पौडेलको यस किसिमको रचनात्मक कार्यको जिल्ला र जिल्ला बाहिर निकै प्रशंसा भएको छ।
राजनीतिलाई समाजसेवाको अभिन्न अंगको रुपमा व्याख्या गर्ने पौडेलकै नेतृत्वमा हालै बारा, पर्सा तथा रौतहटका आँधीवेहरी पीडित सयौं स्थानीयलाई राहत सामग्री बाँडिएको थियो।