काठमाडौँ - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज (शुक्रबार) देशभर मनाउन लागेको छ।
विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो।
त्यस समययता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। स्वर्ण जयन्तीका अवसरमा नेविसङ्घ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ।
यसैगरी नेविसङ्घका निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसङ्घ पद्मकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसङ्घ धादिङ–काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ।
नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन्। नेविसङ्घका नेता लीलाबल्लभ दाहाल ‘काका’ नेविसङ्घको केन्द्रीय समिति नभएको वर्तमान अवस्थामा विभिन्न जिल्ला र क्याम्पस समितिको आयोजनामा स्थापना दिवस मनाउन लागिएको बताउँछन्।
नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी नेविसङ्घको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा दुखदका साथ मनाउनुपरेको बताउँछन्। उनले भने, “इतिहास बोकेको विद्यार्थी सङ्गठनको स्वर्णदिवस नेतृत्व नभएको अवस्थामा मनाउनु परेको छ।”
विसं २०२७ मा स्थापना भएको नेविसङ्घको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ। (रासस)