काठमाडौँ - साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेका छन्। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीले बनाउन लागेको यी दुवै आयोजना आकर्षकमध्येमा पर्छन्।
दुवै आयोजनाले निष्कासन गरेको उक्त आईपीओका लागि न्यूनतम १० कित्तासम्मकाे आवेदन दिन पाइनेछ।
साञ्जेन जलविद्युत कम्पनीले सर्वसाधारणका लागि ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ७३ हजार ७ सय ५० कित्ता छुट्याइएको छ। ४ प्रतिशत अर्थात् २ लाख १९ हजार कित्ता आईपीओ कर्मचारीहरुका लागि र बाँकी ४९ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकाे हो।
साञ्जेन जलविद्युतमा माथिल्लो साञ्जेन १४ दशमलव ८ मेगावाट र साञ्जेन जलविद्युत आयोजना ४२ दशमलव ५ मेगावाट रहेको छ। यो जलविद्युत आयोजनाले न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताक लागि आवेदन माग गरेको छ।
रसुवागढी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि १ करोड २ लाख ६३ हजार १ सय ५० कित्तामध्ये ४ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ लाख १३ हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो।
यस हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ। रसुवागढीले १ सय रुपैयाँ अंकित दरका शेयरलाई न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बताएकाे छ।