काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले लगाएको प्रतिबन्ध र आफ्नो पार्टीका नेता–कार्यकर्ताको रिहाइको माग गर्दै बिहीबार नेपाल बन्दको आह्वान गरेको छ। बन्दको असर आंशिक रुपमा मुलुकभरि नै परेको छ।
बन्दका कारण दैनिक काम गरेर जीविका चलाउने किसान, मजदूर तथा आमनागरिक नै मर्कामा परेका छन्। नेपालको बुद्धिजीवी वर्ग तथा राजनीतिज्ञहरुले विप्वलको नेकपाले आह्वान गरेको बन्द ठिक नरहेको प्रतिक्रिया दिएका छन्।
युवा राजनीतिज्ञ एवं नयाँ शक्ति पार्टीकी नेतृ मानुषी यमी भट्टराई ‘इस्यू बेस’मा आधारिक बन्दको आह्वान जनतालाई पीडा दिन मात्रै हुने बताउँछिन्।
[caption id="attachment_37110" align="alignnone" width="830"]
मानुषी यमी भट्टराई[/caption]
‘दबाबमूलक कार्यक्रम गर्नैपर्छ, चाहिन्छ, सानो जोडबलले जनताका माग सम्बोधन नगर्ने राज्यको चरित्र यसको मुख्य कारक हो,’ उनी भन्छिन्, ‘तर, संविधान निर्माण गरिसकेपछि अब पनि बन्दहड्ताल गर्नु भनेको जनतामा नकारात्मक भावना अभिवृद्धि गर्नु मात्रै हो।’
राज्य व्यवस्था नै परिवर्तन गर्ने आन्दोलनमा बन्दहड्तालको प्रभाव रहने तर्क गर्दै नेतृ भट्टराई यसको सार पक्ष र रुप पक्षलाई ध्यान दिनु पर्ने बताइन्। उनले बन्दहड्तालबाट सानो व्यापार गरेर जीविका चलाउने तथा तल्लो वर्गका नागरिकहरु नै प्रभावित हुने भएकाले यस विषय राजनीतिक दलहरुले सोच्नु पर्ने बताएकी छिन्।
त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवम् पुराना राजनीतिज्ञ यदुवंश झा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको पार्टीले बन्दको आह्वान गर्नुको पृष्ठभूमिमा गलत राजनीतिक संस्कार कारक रहेको बताउँछन्।
[caption id="attachment_37111" align="alignnone" width="830"]
यदुवंश झा[/caption]
‘नेपालमा २०४७ पछि सत्तामा भएका राजनीतिक दलहरु र विपक्ष रहेको दलहरु पनि बन्दहड्तालकै माध्यमबाट आफ्ना राजनीतिक अभिष्ट पूरा गर्न लागेको इतिहास छ,’ झा भन्छन्, ‘विप्लवलाई पनि यसरी नै सत्तामा आउन सकिन्छ कि भन्ने लागेको हुनुपर्छ, अर्कोतर्फ जनताको सत्ताधारी राजनीतिक दलहरुप्रतिको विकर्षणको लाभ पठाउने प्रयास पनि हो यो।’
बदलिदो स्वरुप अनुसार आफ्नो पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षण दिनु पर्ने आवश्यकतालाई बोध गर्नै नसकेको झाको धारणा छ। उनले राज्य पक्षले पनि विप्लवको मागमा लचिलो हुनुपर्ने बताए।
‘प्रतिबन्ध लगाउनु हुँदैनथियो, विप्लवलाई बोलाएर राजनीतिक वातावरण गर्नुपर्छ, सिके राउतलाई नेपाली राजनीतिमा सुरक्षित अवतरण गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले पाएको स्वाबासी विप्लवलाई सही बाटोमा ल्याएर अरु बढाउनु पर्नेथियो,’ उनले भने।
[caption id="attachment_37109" align="alignnone" width="830"]
ज्याेति किरण[/caption]
त्यसैगरी, सामाजिक अभियन्ता ज्योति किरण चाहिँ अलि फरक धारणा राख्छन्। नेत्रविक्रम चन्द विप्लवले राजनीतिक स्पेस बनाउन मात्रै पछिल्लो आतंक सिर्जना गरिरहेको उनको टिप्पणी छ।
‘विप्लवमा चाँडै प्रधानमन्त्री बन्ने महत्वाकांक्षा प्रबल भइदिँदा देशले फेरि अशान्ति झेल्नु परेको हो, यो द्वन्द्वकै धङधङी पनि हो,’ उनी भन्छन्, ‘उनको यो प्रतिष्ठा जोगाउने प्रयास मात्रै हो, यसमा विप्लवको समूह खासै सफल हुन्छन् भन्ने मलाई लाग्दैन।’